पर्सा प्रहरीले नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगंज महानगरपालिका–१३ मुर्ली बस्दै आएका नासिरलाई शुक्रबार साँझ मुर्लीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार नासिरमाथि नातामा साली पर्ने एक महिलाको हत्या गरेको आरोप छ । उक्त घटनामा अनुसन्धानका क्रममा प्रहरीले २०७८ सालमा ती महिलाको शव श्मशानघाटमा दफन गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।
त्यसयता घटनाको अनुसन्धान अघि बढाउँदै आएको प्रहरीले हत्या आरोपमा करिब पाँच वर्षपछि नासिरलाई पक्राउ गरेको हो । प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा अन्य पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यसअघि घटनामा पहुँचका आधारमा अनुसन्धान अघि नबढाइएको आरोपसमेत लागेको थियो । लामो समयपछि प्रहरीले अनुसन्धानलाई पुनः सक्रिय बनाउँदै नासिरलाई पक्राउ गरेपछि घटनामा संलग्न भनिएका अन्य आरोपित भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले फरार आरोपितहरूको खोजी तथा घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ । पक्राउ परेका नासिरमाथि ज्यानसम्बन्धी कसुर र सार्वजनिक न्यायविरुद्धको कसुरमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।