बारामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १६४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने २३३ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार साउन र भदौ महिनामा भएका दुर्घटनामा मानवीय क्षतिसँगै ठूलो सङ्ख्यामा मानिस घाइते भएका हुन् ।
दुर्घटनाको यो तथ्याङ्कले पूर्व–पश्चिम तथा वीरगन्ज–पथलैया सडकखण्डमा सवारी आवागमनसँगै सडक सुरक्षाको चुनौतीसमेत देखाएको छ । यसै क्रममा भदौ ३१ गते राति जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्पनजिकै दुई जनाको ज्यान जाने गरी दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार वीरगन्ज–पथलैया सडकखण्ड अन्तर्गत ऐरोटेक ग्यास कम्पनीबाट पूर्वतर्फको सर्भिस लेन हुँदै एक्सप्रेस–वेमा प्रवेश गरिरहेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ नगवाका करिब ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का करिब ३० वर्षीय दिलिप चौधरी रहेका छन् । प्रहरीका अनुसार दुवैको राति करिब ९ः१० बजे उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालक को थिए भन्ने तत्काल खुल्न नसकेको र शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सङ्लग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
बाराका मुख्य सडकखण्डमा सवारीको चाप बढ्दै जाँदा तीव्र गति, लेन अनुशासनको कमी, सडकको संरचना तथा चालक र पैदलयात्रुको सावधानीजस्ता विषय सडक सुरक्षाका प्रमुख चुनौतीका रुपमा देखिएका छन् । बजार, बस्ती र अस्पताल आसपासमा पैदलयात्रुको चाप बढी हुने भएकाले सवारी चालकले गति नियन्त्रण गर्नुका साथै सडक पार गर्दा पैदलयात्रुले पनि थप सतर्कता अपनाउनुपर्ने आवश्यकता पछिल्ला दुर्घटनाले औंल्याएका छन् ।