बाराको सिमरामा असोज दोस्रो सातादेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ असोज १० देखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
सिमरा रंगशालामा रात्री समयमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ महिला फुटबल टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, फेयर फुटबल क्लब धरान, बसन्तपुर युनाइटेड क्लब चितवन, भारतको दार्जिलिङस्थित कुर्सेङ गोल्स फुटबल क्लब, झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको साविक विजेता एपीएफ क्लब हो। गत संस्करणको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताका संयोजक हरि चौधरीका अनुसार विजेताले ५ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताभरको इमर्जिङ प्लेयर र प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ। नेपाल ल्युब आयल, हुलास स्टील र नेपोभिट टायल्स सहप्रायोजकका रूपमा रहनेछन्।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चार खेलका लागि ५० रुपैयाँ, सेमिफाइनलका लागि १०० रुपैयाँ र फाइनलका लागि २०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। टिकट बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत रसुवा बाढी प्रभावितको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।
पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रतियोगितालाई जीतपुरसिमराको गौरवसँग जोडेर हेर्नुपर्ने बताए। महिला सशक्तीकरण, आत्मबल तथा स्वास्थ्य विकासमा समेत प्रतियोगिताले सकारात्मक योगदान पुर्याउने उनको भनाइ थियो ।
उपप्रमुख अधिकारीले प्रतियोगिताका लागि आफूले बजेट निर्माणका क्रममा २० लाख रुपैयाँ विनियोजन गरे पनि नगर प्रमुखबाट प्रमाणीकरण हुँदा बजेट १० लाख रुपैयाँमा घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरे।
त्यस्तै, जीतपुरसिमरा–१४ की वडाध्यक्ष चयन गुरुङले प्रतियोगितालाई केवल खेलकुद र हारजितका रूपमा मात्र नहेरी महिला सशक्तीकरण र युवतीहरूको आत्मबल बढाउने अवसरका रूपमा लिनुपर्ने बताइन् ।
आयोजकले अघिल्लो संस्करणमा दर्शकको उत्साहजनक सहभागिता रहेको भन्दै यसपटक पनि प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरेको जनाएको छ ।