रौतहट । रौतहटको सदरमुकाम गौरस्थित भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।
शुक्रबार अपराह्न करिब ३ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि गरिएको संयुक्त चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा माधवनारायण नगरपालिका–७ लौकाहा निवासी २६ वर्षीय सञ्जिव पण्डित र सोही स्थानका १८ वर्षीय रितिक दास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार उनीहरूको साथबाट स्रोत नखुलेको नेपाली नगद २ लाख ५४ हजार रुपैयाँ, चाँदीजस्तो देखिने दुई थान पायल, दुई थान मोबाइल फोन तथा मोटरसाइकल बरामद गरिएको छ ।
भन्सार सुरक्षा गार्डबाट असई दीपक कुमार यादवको कमान्डमा तीन जना तथा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद भट्टको कमान्डमा सात जनाको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनासहित बरामद नगद, सामान र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालयमा बुझाइएको डिएसपी गौतमले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।