जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका त्रुटि र विभेदकारी प्रावधान सच्याउन संशोधन, परिमार्जन हुँदै आवश्यक परे पुनर्लेखनसम्म जानुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा संविधानप्रति आफ्नो पार्टीको असन्तुष्टि कायमै रहेको उल्लेख गर्दै यादवले सबै समुदायको हकअधिकार, प्रतिनिधित्व र सहभागिता सुनिश्चित हुनेगरी संविधानलाई परिमार्जन गर्नुपर्ने बताएका हुन् ।
उनले संविधान जारी गर्ने प्रक्रिया नै गलत भएको दाबी गर्दै संविधान निर्माणका क्रममा भएका सहमति र अन्तरिम संविधानका व्यवस्थालाई उल्टाएर पर्याप्त छलफल नगरी संविधान जारी गरिएको आरोप लगाए । संविधान घोषणाका क्रममा मधेसमा भएको आन्दोलन र दमनका कारण आफूहरूले असोज ३ गतेलाई कालो दिवसका रूपमा मनाउँदै आएको उनको भनाइ छ ।
यादवले संघीयता भए पनि प्रदेशहरू अधिकारविहीन अवस्थामा रहेको टिप्पणी गरे। संविधान जारी गर्ने पक्षले समेत यसको पूर्ण स्वामित्व लिन नसकेको दाबी गर्दै उनले संविधान संशोधनमार्फत सबै समुदायको अधिकार सुरक्षित गर्नुपर्ने बताए ।
उनका अनुसार असोज ३ गते वीरगञ्जको टाउन हलमा एकीकृत मोर्चाको आयोजनामा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनका विषयमा बहस कार्यक्रम आयोजना गरिनेछ ।
‘सरकारले जनताको पक्षमा काम गरे सहयोग गर्छौं’
अध्यक्ष यादवले वर्तमान सरकारप्रति आफूहरू आक्रामक नभएको दाबी गर्दै सरकारले जनताको पक्षमा काम गरे सहयोग गर्ने बताए ।
उनले संघीयतालाई बलियो बनाउने प्रतिबद्धता जनाएर आएको सरकारले प्रदेश खारेजीजस्ता विषय उठाउन नहुने धारणा राखे। स्वास्थ्य, शिक्षा र अर्थतन्त्रको सुधारका लागि सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको भनाइ छ।
सरकारले जनताको हितमा काम नगरे खबरदारी गर्ने भन्दै यादवले तिहार र छठपछि वैचारिक आन्दोलन तथा सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताए। यद्यपि, तत्काल सडक आन्दोलनका कार्यक्रम भने तय नभएको उनले स्पष्ट पारे।
‘चुनावभन्दा जनताको समस्या समाधान मुख्य कुरा हो’
यसअघिको संघीय निर्वाचनमा मधेसवादी दलहरूको कमजोर प्रदर्शनबारे सोधिएको प्रश्नमा यादवले विगतमा आफूहरूबाट भएका कमजोरी सुधार्न तयार रहेको बताए । तर विगतका कमजोरीलाई मात्र देखाएर अहिलेका समस्या समाधान नहुने उनको भनाइ छ।
आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आन्दोलन गर्न लागेको भन्ने प्रश्नमा उनले चुनावभन्दा जनताको समस्या समाधान मुख्य विषय भएको बताए ।
यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महँगी, कालोबजारी तथा गरिबीलाई प्रमुख मुद्दाका रूपमा अघि सारे। राज्यले गरिब जनतालाई आधारभूत सेवा र सहुलियत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
उनले युवाको बढ्दो विदेश पलायनप्रति पनि चिन्ता व्यक्त गरे। युवालाई विदेश पठाएर मात्रै देशको समस्या समाधान नहुने भन्दै उनले रोजगारी सिर्जना र आर्थिक अवसर विस्तार गर्नुपर्ने बताए ।