बारामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १६४ वटा सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने २३३ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार साउन र भदौ महिनामा भएका दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो । पूर्व–पश्चिम राजमार्ग तथा वीरगंज –पथलैया सडकखण्डमा सवारी चाप बढ्दै जाँदा सडक सुरक्षा चुनौतीसमेत बढेको देखिएको छ । भदौ ३१ गते राति जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्पनजिकै भएको दुर्घटनाले पनि यसको गम्भीरता देखाएको छ ।
प्रहरीका अनुसार ऐरोटेक ग्यास कम्पनीबाट पूर्वतर्फको सर्भिस लेन हुँदै एक्सप्रेस–वेमा प्रवेश गरिरहेको ना.३ ख ५६१० नम्बरको एलपी ग्यास बोकेको ट्रकले जीतपुरबाट वीरगंजतर्फ जाँदै गरेको ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृत्यु हुनेमा पर्साको वीरगंज महानगरपालिका–१५ नगवाका करिब ३५ वर्षीय रविन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का करिब ३० वर्षीय दिलिप चौधरी रहेका छन् । प्रहरीका अनुसार दुवै जनाको राति करिब ९ः१० बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक को थिए भन्ने तत्काल खुल्न नसकेको र मृतकको शव नारायणी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
बाराका मुख्य सडकखण्डमा सवारीको चाप बढ्दै जाँदा तीव्र गति, लेन अनुशासनको कमी, सडक संरचना तथा चालक र पैदलयात्रुको असावधानी सडक दुर्घटनाका प्रमुख चुनौतीका रूपमा देखिएका छन् । बजार, बस्ती तथा अस्पताल आसपासमा पैदलयात्रुको चाप बढी हुने भएकाले सवारी चालकले गति नियन्त्रण गर्नुका साथै पैदलयात्रुले पनि सडक पार गर्दा थप सतर्कता अपनाउनुपर्ने देखिन्छ ।