काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेल कात्तिक ९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
तेस्रो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। क्यानका अनुसार लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते इलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ। एनपीएलको फाइनल मंसिर ५ गते आयोजना हुनेछ ।
तेस्रो संस्करणमा कुल ३२ खेल हुनेछन्। तीमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइने क्यानले जनाएको छ ।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोज गरी आठ टोली सहभागी हुनेछन् ।
एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो भने सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो । त्यसैले तेस्रो संस्करणको उद्घाटन खेलमै गत संस्करणका विजेता र उपविजेताबीच प्रतिस्पर्धा हुने भएको हो ।
लिग चरणमा प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन्। लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
