करिब दुई वर्षअघि सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवको हत्या भएको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
सई यादवको हत्या घटनामा संलग्न रहेको आरोप लागेका भारत बिहारको मधुवनीका ३८ वर्षीय मोहम्मद कुरवान मन्सुरीलाई शनिबार दिउँसो घटना भएकै क्षेत्र कचनारीबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मन्सुरीलाई नियन्त्रणमा लिन तीन राउन्ड गोली चलाइएको थियो। गोली लागेर उनको बायाँ हात र दायाँ खुट्टामा चोट लागेको छ। उनको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार मन्सुरी नेपालबाट भारततर्फ मदिरा तस्करीमा संलग्न थिए। सई यादवलाई ठक्कर दिने भारतीय सफारी गाडीका धनीसमेत रहेका मन्सुरीले घटनाका बेला आफैं गाडी चलाएको प्रहरीको दाबी छ।
२०८१ मंसिर १६ गते बिहान बरियारपट्टी गाउँपालिका–१, कचनारी छोट्की टोलस्थित बीओपीबाट सई यादवको कमाण्डमा पाँच जनाको गस्ती टोली परिचालन भएको थियो। बिहान करिब ३ः१० बजे टोलीले भारतीय सफारी गाडीमा मदिरा तस्करी भइरहेको देखेपछि गाडीलाई पछ्याएको थियो ।
सई यादवको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले तस्करीमा प्रयोग भएको गाडीलाई पछ्याउने क्रममा उक्त गाडीले सई यादवलाई ठक्कर दिएर भारततर्फ भागेको थियो। गम्भीर घाइते भएका यादवको उपचारका क्रममा लहानस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
घटनापछि मन्सुरी लामो समय भारतमै बस्दै आएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न खोज्दा सुरुमा प्रहरीतर्फ गोली प्रहार गर्दै भाग्न खोजेपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा रहेको टोलीले जवाफी कारबाहीमा गोली प्रहार गरी नियन्त्रणमा लिएको एसपी पाठकले बताए ।
मृतक सई यादव ४८ वर्षका थिए। उनी सिरहाको नरहा गाउँपालिका–४ का बासिन्दा थिए ।