जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। सामाजिक अपराधका ३२, आत्महत्यासम्बन्धी २८, महिला तथा बालबालिकासम्बन्धी १९, सवारी ज्यानसम्बन्धी ११, चोरीका ५ र ज्यानसम्बन्धी २ मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार भदौमा ८४ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु र १२२ जना घाइते भएका छन्। दुर्घटनामा ८१ वटा चालकको कारण, तथा एक–एक वटा सवारीसाधन, यात्रु र मौसमका कारण भएका थिए। दुर्घटनामा संलग्न ९१९ सवारीसाधनमाथि कारबाही गरी ९ लाख ८५ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ।
लागूऔषधतर्फ ६ मुद्दा दर्ता गरी ३ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट १६८ किलो १६ ग्राम गाँजा, १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र १८ हजार ३०० थान ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
विभिन्न मुद्दाका फरार ४४ प्रतिवादी पक्राउ गरी ११ वर्ष ४ महिना २५ दिन कैद तथा १ लाख ८६ हजार १५० रुपैयाँ जरिवाना असुल गरिएको छ। त्यस्तै, भदौमा ३९ वटा विपद्का घटनामा ८ जनाको मृत्यु, १२० जना घाइते र करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
अपराध न्यूनीकरण तथा जनचेतनाका लागि प्रहरीले १३१ वटा समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा ४ हजार १०८ जना सहभागी भएका थिए। साथै, अवैध मदिरा, भन्सार छलीका सामान, काठ तथा प्राकृतिक सम्पदा दोहनमा संलग्न सामग्रीसमेत बरामद गरी कारबाही गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार बारामा हाल १ हजार ७२१ जना प्रहरी जनशक्ति कार्यरत छन्।