बाराको सिमरामा शनिबार साँझ भएको चक्कु प्रहार घटनाको अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये चक्कु प्रहार गर्ने मुख्य आरोपितका रूपमा जीतपुरसिमरा–१६ का २३ वर्षीय आयुश राईको नाम खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राईले सिमरास्थित नेपाल केबुल अगाडि रहेको सम्झना स्टाफ होटलमा बसेका ३५ वर्षीय शेरबहादुर खड्कालाई होटलको भान्सामा रहेको चक्कुले घाँटीमा प्रहार गरी फरार भएका थिए। घटनापछि फरार राईलाई प्रहरीले करिब पाँच घण्टापछि राति ९ः३० बजे जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित डाँडाटोलको धान खेतबाट नियन्त्रणमा लिएको हो।
घटनापछि पश्चिमतर्फको जंगल हुँदै राजमार्ग निस्किएर महेन्द्रनगर पुगेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। आफन्तको घरमा लुकेर बसेका राई प्रहरी पुगेपछि त्यहाँबाट भागेर अर्को आफन्तको घर हुँदै धान खेतमा पुगेका थिए। प्रहरीले खेत घेरा हालेर उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
राईलाई लुकाउन तथा भगाउन सहयोग गरेको आरोपमा उनका एक आफन्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनको नाम भने सार्वजनिक गरिएको छैन।
यसअघि प्रहरीले घटनालगत्तै राईसँगै होटलमा आएका दुई युवालाई पनि नियन्त्रणमा लिएको थियो। घाइते खड्कालाई उपचारका लागि गण्डकस्थित बयोधा अस्पताल पुर्याउने क्रममा उनीहरूलाई अस्पतालबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि होटल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा राखेको छ। प्रत्यक्षदर्शीका अनुसार राईसहित तीन जना मदिरा सेवन गरी होटलमा पुगेका थिए। उनीहरूबीच विवाद भएको केही समयपछि राईले भान्साबाट चक्कु ल्याएर खड्कामाथि प्रहार गरेको बताइएको छ।