सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
इन्द्रेणी स्कुलको छात्रावासबाट भागेको भन्दै लहान–४ स्थित इन्द्रेणी स्कुल प्रालिका शिक्षकले त्यहाँ अध्ययनरत ११ वर्षीय विद्यार्थीलाई कुटपिट गरेको उनका बुवाले बताए।
सप्तरीको बलानविहुल–४ का ती विद्यार्थी विद्यालयको छात्रावासमा बस्दै आएका थिए। उनी छात्रावासबाट पटक–पटक भागेर दुःख दिने गरेकाले कुटपिट गरेको विद्यालयले समेत स्वीकार गरेको छ।
विद्यालयका संस्थापक देवेन्द्र साहले विद्यार्थी पटक–पटक छात्रावासबाट भाग्ने गरेको र पछिल्लो पटक भाग्दा प्रहरीले समातेपछि आफूहरूलाई समेत नचिनेको भन्दै दुःख दिएको बताए। पछि भारतमा काम गर्ने उनका बुवासँग सम्पर्क गरेर उनलाई छुटाएर ल्याएपछि सामान्य तर्साउन एक–दुई लट्ठीले कुटेको उनले स्वीकार गरे।
यता, विद्यार्थीका अभिभावकले भने बालकलाई निर्घात कुटपिट गर्नुका साथै बाँधेर राखेको बताएका छन्। विद्यार्थीले पनि आफूलाई बाँधेर घोप्टो बनाई फलामे छड र प्लास्टिकको पाइपले कुटेको बताएका छन्।
बालकलाई अहिले परिवारजनले घर लगेर उपचार गराइरहेका छन्।
सिरहाका कतिपय निजी विद्यालयमा विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा यातना दिने तथा कुटपिट गर्ने घटना हुँदै आएको अधिकारकर्मीहरू बताउँछन्। यस्ता घटना दोहोरिरहँदा धेरै घटना आर्थिक लेनदेनमा मिलाउने गरिएको उनीहरूको भनाइ छ।
सरोकारवालाको मौनताका कारण यहाँका बालबालिका विद्यालयमा यातना भोग्न बाध्य भइरहेको अधिकारकर्मीहरू बताउँछन्।