बारामा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवैध सामानसहित चार वटा सवारीसाधन सशस्त्र प्रहरीले बरामद गरेको छ।
बाराको विश्रामपुर गाउँपालिका–१, कल्याणपुरस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) बरैनियाबाट खटिएको टोलीले आइतबार भन्सार छली ल्याइँदै गरेका विभिन्न सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद हुने सामानमा कुरकुरे, सुर्ती, जुत्ता, लत्ताकपडालगायतका वस्तु रहेका छन्। अवैध सामान ओसारपसारमा प्रयोग भएका दुई वटा साइकल, एउटा मोटरसाइकल र एउटा स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद सामान तथा सवारीसाधनको कुल अन्दाजी मूल्य ७ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको छ।
उनका अनुसार बरामद सामान तथा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको छ।
सीमा क्षेत्रमा भन्सार छली हुने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिँदै आएको जनाएको छ।