राजविराज नगरपालिका–१६, बोरियास्थित सिङ्गो सदा बस्ती ९मुसहरी टोल० यतिबेला शोकमा डुबेको छ । रसुवामा बाढी आएको तीन साता बितिसक्दा पनि यस बस्तीका तीन जना कामदारको अवस्था अझै अज्ञात रहँदा तिनै जनाको परिवारसँगै बस्ती नै शोक र चिन्तामा डुबेको हो ।
त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आउनुभएका ४० वर्षीय बेचन सदा, ३५ वर्षीय शिवकुमार सदा र ३२ वर्षीय सुरेन्द्र सदाको अहिलेसम्म कुनै खबर नआएपछि उहाँहरूका परिवार बिचल्लीमा परेका हुन् । तिनै जना नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा चार महिनादेखि कामदारका रूपमा कार्यरत रहनुभएको थियो । भदौ १० गते रसुवामा आएको बाढीपछि उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुभएको छ । आमा गुमाएको एक वर्षमै बुवाको अत्तोपत्तो छैन ।
सम्पर्कविहीन भएकामध्ये बेचन सदाका परिवारको पीडा झन् गहिरो छ । उहाँकी श्रीमती फुलियादेवी सदाको एक वर्षअघि क्यान्सरका कारण निधन भएको थियो । बेचनका चार सन्तानमध्ये दुई छोरी किरण र हिराको विवाह भइसकेको छ ।
अहिले १३ वर्षीय छोरा सुभाष र सात वर्षीय छोरी निभा बुवा फर्किएर आउने पर्खाइमा छन् । आमाको निधनपछि दुई बालबालिकाका लागि बुवा नै संसारको एक मात्र सहारा हुनुहुन्थ्यो । बाढीपछि बुवा बेचनको कुनै अत्तोपत्तो नहुँदा उहाँहरूको जीवनमा फेरि अँध्यारो छाएको छ । सुभाषले भन्नुभयो, “एक वर्षअघि आमा बित्नुभयो । त्यसपछि एक मात्र सहारा बुवा हुनुहुन्थ्यो । बुवाको पनि अहिलेसम्म कुनै खबर नआएपछि हामी बिचल्लीमा परेका छौँ ।” बुवा फर्केर आउने आशामा रहेका सुभाष र निभालाई अहिले दुई छाक टार्नसमेत समस्या छ । घरमा कमाउने व्यक्ति नै सम्पर्कविहीन भएपछि उहाँहरूको दैनिकी थप कष्टकर बनेको हो भने बस्तीका छिमेकी पनि यी बालबालिकाको अवस्था देखेर भावुक हुने गरेका छन् ।