रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित तिलेश्वरनाथ सामुदायिक वनको करीब पाँच हेक्टर क्षेत्रफलमा निर्माणाधीन पर्यापर्यटन पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
पार्क निर्माणको काम अघि बढेसँगै यस क्षेत्रमा आन्तरिक पर्यटक तथा स्थानीयको चहलपहल तीव्र रूपमा बढेको हो। आर्थिक वर्ष २०७५/७६ मा तत्कालीन जिल्ला वन कार्यालयबाट रु ५ लाख अनुदान पाएपछि यो पार्कको विकास प्रक्रिया शुरू भएको थियो। कुल १६ करोड रुपैयाँको गुरुयोजना रहेको यस पार्कका लागि हालसम्म सङ्घीय पर्यटन मन्त्रालयबाट ४ करोड ५५ लाख र चन्द्रपुर नगरपालिकाबाट २ करोड ४५ लाख गरी ७ करोड रुपैयाँ विनियोजन भई निर्माण कार्य अघि बढिरहेको छ।
पार्क क्षेत्रमा हालसम्म पिकनिकस्थल, शिव तथा नागमन्दिर, स्विमिङ पुल, स्टेज र टिकट काउन्टर जस्ता भौतिक संरचनाहरू निर्माण भइसकेका छन्।पार्कको मुख्य आकर्षणका रूपमा वन्यजन्तु उद्धार गृह रहेको छ, जहाँ बस्तीमा पसेका वा घाइते अवस्थामा फेला परेका मयूर, हरिण, अजिङ्गर र खरायो जस्ता वन्यजन्तु तथा चराचुरुङ्गीलाई संरक्षण गरेर राखिएको छ।
यस उद्धार गृहले गर्दा विशेषगरी विभिन्न विद्यालयका विद्यार्थी र सर्वसाधारणको आकर्षण बढेको वन समूहले जनाएको छ।विगत २०७० सालमा राष्ट्रिय वनलाई सामुदायिक वनमा हस्तान्तरण गरेपछि स्थानीय उपभोक्ताहरूको सक्रियतामा काठ तस्करी, वन्यजन्तुको शिकार र नदीजन्य पदार्थको अवैध उत्खनन पूर्ण रूपमा रोकिएको छ। उपभोक्ताहरूको उदाहरणीय संरक्षण कार्यकै कारण वन क्षेत्र विस्तार भई हाल ३२८ हेक्टर पुगेको छ।
वन व्यवस्थापनका लागि हाल दिगो वन व्यवस्थापन कार्ययोजना लागू गरिएको छ, जसअन्तर्गत काठ(दाउरा उत्पादन र वितरणका कार्यहरू पारदर्शी ढङ्गले अघि बढाइएका छन्।मधेस प्रदेशका वन निर्देशक सुभाषचन्द्र दास र डिभिजन वन कार्यालय रौतहटका प्रमुख मन्जुर अहमदले पार्क क्षेत्रको निरीक्षण गर्दै सुशासन र पारदर्शितालाई ध्यानमा राखेर गुरुयोजना अनुसारको काम तोकिएको समयमै सम्पन्न गर्न आग्रह गरेका छन्।
पार्कको काम समयमै सकिएमा यसले भविष्यमा बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना बलियो रहेको छ। यद्यपि, चुरे क्षेत्रबाट बग्ने चाँदी र अलारजोर खोलाका कारण बर्सेनि हुने वन क्षेत्रको कटान भने यस वन समूहका लागि मुख्य चुनौतीका रूपमा रहेको छ।