जिल्ला प्रहरी कार्यालय, पर्साले चालू आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै विभिन्न प्रकृतिका १५४ वटा अपराधका मुद्दा दर्ता गरेको छ। प्रहरीको सक्रियता बढेसँगै चालू मुद्दाको अनुसन्धान तथा कारबाहीका क्रममा एक महिनाको अवधिमा १३८ जना प्रतिवादी पक्राउ परेका छन्।
जिप्रका, पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार भदौ महिनामा सबैभन्दा बढी सामाजिक अपराधतर्फ ७७ वटा मुद्दा दर्ता भएका छन्। यसैगरी, सङ्गठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्या ११, चोरी ९, महिला तथा बालबालिकासम्बन्धी ९, सवारी ज्यान ५ तथा अन्य प्रकृतिका ८ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
फरार प्रतिवादी पक्राउ र राजस्व संकलनमा ऐतिहासिक सफलताअदालतको फैसला कार्यान्वयनतर्फ पर्सा प्रहरीले ठूलो सफलता हात पारेको छ। विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहँदै आएका १०७ जना प्रतिवादीलाई भदौ महिनामा पक्राउ गरिएको छ। पक्राउ परेका फरार प्रतिवादीहरूलाई कुल २४ वर्ष ३ महिना २८ दिन कैद भुक्तानका लागि कारागार पठाइनुका साथै उनीहरूबाट १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।
लागूऔषध नियन्त्रणमा कडा निगरानीलागूऔषध ओसारपसार र बिक्रीवितरण नियन्त्रणतर्फ भदौ महिनामा २७ वटा मुद्दा दर्ता गरी ४१ जनालाई पक्राउ गरिएको छ। प्रहरीले सो अवधिमा २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५७८ ग्राम चरेस र ३ ग्राम ७४० मिलिग्राम अफिम लगायतका प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।राजस्व चुहावट र प्राकृतिक सम्पदा दोहन नियन्त्रणभन्सार छली तथा अवैध आयात नियन्त्रणका क्रममा प्रहरीले १ करोड ९ लाख ९ हजार ५९५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी एकजनालाई पक्राउ गरेको छ।
त्यस्तै, प्राकृतिक सम्पदाको अवैध दोहनतर्फ २३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई १ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। अवैध वन पैदावारतर्फ ४१ क्युबिक फिट काठ र १० वटा साइकलसहित ४ जनालाई पक्राउ गरी २ लाख ९१ हजार १०० रुपैयाँ राजस्व दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।