चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा बजार अनुगमनलाई तीव्र पारिए पनि वीरगंजमा भने प्रभावकारी रूपमा बजार अनुगमन हुन नसकेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि, गुणस्तरमा लापरबाही तथा म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्री हुन सक्ने जोखिम बढे पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको उनीहरुको आरोप छ।
दशैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै जाँदा बजारमा विस्तार किनमेल गर्नेहरुको चाप बढ्न थालेको छ। चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा, मिठाइ, फलफूल, मासुजन्य पदार्थ, पेय पदार्थलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यापारीले मनपरी मूल्य लिने तथा कम गुणस्तरका वस्तु बिक्री गर्ने सम्भावना पनि बढ्ने गरेको छ ।
वीरगंजका विभिन्न बजार क्षेत्रमा मूल्यसूची नराख्ने, एउटै वस्तुको पसलअनुसार फरक–फरक मूल्य लिने तथा सामानको गुणस्तर र म्यादबारे पर्याप्त जानकारी नदिने प्रवृत्ति रहेको विकास गुप्ताले गुनासो गरेका छन् । विशेषगरी चाडपर्वको समयमा अत्यधिक माग हुने खाद्य सामग्रीमा मूल्य र गुणस्तर दुवैमा निगरानी आवश्यक रहेको उनीहरूको भनाइ छ।
अन्य जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन टोली परिचालन भइरहेका बेला वीरगंजमा भने बजार अनुगमन प्रभावकारी नदेखिँदा व्यापारीलाई मनपरी गर्ने वातावरण बनेको छ। अनुगमन नहुँदा उपभोक्ताले आफूले खरिद गर्ने वस्तुको वास्तविक मूल्य, गुणस्तर र म्यादबारे समेत सहज रूपमा जानकारी पाउन नसकेको अञ्जली कुमारीको भनाइ छ।
वीरगंज महानगर क्षेत्रका मुख्य बजारदेखि गल्ली तथा टोलका किराना पसलसम्म नियमित अनुगमन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले खाद्यान्न तथा पेय पदार्थको गुणस्तर परीक्षण, मूल्यसूचीको अनिवार्यता, म्याद गुज्रिएका वस्तुको बिक्रीमा रोक, तौल तथा नापतौलको जाँच र कृत्रिम मूल्यवृद्धिमाथि निगरानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
चाडपर्वको समयमा स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य सामग्रीको बिक्री बढी हुने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, वाणिज्य तथा उपभोक्ता संरक्षणसम्बन्धी निकाय र प्रहरी प्रशासनबीच समन्वय गरी संयुक्त अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।
उपभोक्ता अधिकारकर्मीहरूले पनि बजार अनुगमनलाई केवल चाडपर्व केन्द्रित अभियानमा सीमित नगरी नियमित र परिणाममुखी बनाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार अनुगमनका क्रममा भेटिएका कमजोरीमा तत्काल सुधारको निर्देशन दिने मात्र नभई उपभोक्तालाई ठगी गर्ने तथा अखाद्य वा म्याद गुज्रिएका वस्तु बिक्री गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ।
वीरगंज नेपालको प्रमुख व्यापारिक नाका तथा मधेस प्रदेशकै ठूलो व्यापारिक केन्द्र भएकाले यहाँको बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उपभोक्ताको माग छ। सीमावर्ती बजार भएकाले भारतबाट आयात हुने खाद्य तथा अन्य उपभोग्य सामग्रीको गुणस्तर, लेबल, म्याद र मूल्यसमेत निगरानी गर्नुपर्ने उनीहरूको भनाइ छ।
चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोक्ताको भीड बढ्दै जाने भएकाले तत्काल बजार अनुगमन टोली परिचालन गरी मूल्य, गुणस्तर, तौल र म्यादको नियमित जाँच गर्नुपर्ने माग बढेको छ। उपभोक्ताहरूले बजारमा देखिने समस्या समाधानका लागि कागजी अनुगमनभन्दा पनि स्थलगत रूपमा प्रभावकारी अनुगमन र कारबाही आवश्यक रहेको बताएका छन्।
सम्बन्धित निकायले समयमै बजार अनुगमनलाई तीव्रता नदिए चाडपर्वको समयमा उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुनुका साथै गुणस्तरहीन तथा अस्वस्थकर वस्तु उपभोग गर्नुपर्ने अवस्था आउन सक्ने उनीहरूको चिन्ता छ। त्यसैले वीरगंजमा तत्काल संयुक्त बजार अनुगमन सुरु गरी उपभोक्ताको अधिकार र स्वास्थ्य सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।