सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा करोडौं रुपैयाँ मूल्यका पाँचवटा डायलासिस मेसिन जडान भएको अढाई वर्ष बितिसकेको छ। तर आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन नहुँदा ती मेसिन अझै सञ्चालनमा आउन सकेका छैनन् ।
तत्कालीन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले २०८० फागुन १२ गते अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए। सेवा सुरु हुने अपेक्षासहित मेसिन जडान गरिए पनि उद्घाटन भएको लामो समयसम्म बिरामीले सेवा पाउन सकेका छैनन् ।
डायलासिस सेवा नहुँदा सर्लाहीका मिर्गौला रोगी उपचारका लागि जनकपुर, बर्दिबास, वीरगंज र काठमाडौंसम्म पुग्नुपर्ने बाध्यतामा छन्। स्थानीयस्तरमै उपलब्ध हुनुपर्ने सेवा सञ्चालनमा नआउँदा बिरामी र परिवारले थप समय तथा आर्थिक भार व्यहोर्नुपरेको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्रकुमार यादवका अनुसार मेसिनसहित सेवा सञ्चालनका लागि आवश्यक अधिकांश तयारी पूरा भए पनि दक्ष प्राविधिक जनशक्ति नहुँदा सेवा सुरु गर्न नसकिएको हो ।
उनका अनुसार आफूले अध्यक्षको जिम्मेवारी सम्हालेयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पटक–पटक समन्वय गर्दै जनशक्ति व्यवस्थापनका लागि ताकेता गरिएको छ। दशैंपछि सेवा सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामप्रकाश शाहले पनि दक्ष प्राविधिक तथा स्वास्थ्यकर्मीको अभावलाई मुख्य समस्या बताए। जनशक्ति व्यवस्थापनका विषयमा मन्त्रालयसँग निरन्तर छलफल भए पनि हालसम्म सेवा सञ्चालन गर्न सकिने अवस्था नबनेको उनले बताए।
यता, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले भने असोजभित्रै डायलासिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। उनका अनुसार आवश्यक जनशक्ति व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढिसकेको छ।
मन्त्री साहका अनुसार मन्त्रिपरिषद्बाट अस्थायी दरबन्दी स्वीकृत भइसकेको र ओएनएम प्रक्रिया अगाडि बढिरहेको छ। प्रक्रिया पूरा भएपछि चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालनमा ल्याउने सरकारको तयारी छ।
डायलासिस मात्र होइन, अन्य सेवा पनि प्रभावित
मलंगवा अस्पतालमा जनशक्ति अभावको असर डायलासिस सेवामा मात्र सीमित छैन। अस्पताल प्रशासनका अनुसार आईसीयू र एसएनसीयूजस्ता महत्वपूर्ण सेवा पनि आवश्यक जनशक्तिको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।
अस्पतालमा दैनिक चार सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। त्यस्तै, दैनिक १२ देखि १५ जनासम्म सुत्केरी सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।
एसएनसीयूमा दुईवटा बेड मात्र सञ्चालनमा रहेकाले थप उपचार आवश्यक पर्ने कतिपय नवजात शिशुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको प्रशासनको भनाइ छ।
अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि दरबन्दी भए पनि केही कर्मचारी अन्य अस्पतालमा काजमा खटिँदा जनशक्ति व्यवस्थापन प्रभावित भएको स्रोतको भनाइ छ। नेपाल सरकारको छात्रवृत्ति कार्यक्रमअन्तर्गत खटाइने चिकित्सकसमेत यस वर्ष अस्पतालमा नपठाइँदा समस्या थपिएको प्रशासनको दाबी छ।
करोडौं रुपैयाँ खर्चेर जडान गरिएका डायलासिस मेसिन अढाई वर्षसम्म प्रयोगमा आउन नसक्नुले उपकरण खरिदसँगै त्यसको सञ्चालनका लागि आवश्यक जनशक्ति र व्यवस्थापनको तयारीबारे प्रश्न उठाएको छ। अब सरकारले घोषणा गरेअनुसार असोजभित्रै सेवा सञ्चालनमा ल्याउन सक्छ कि सक्दैन भन्ने विषयमा बिरामी तथा स्थानीयको चासो छ।