नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपिभी खोप अभियान शुरू गरेको छ ।
पर्सा जिल्लामा भने दुई दिनमै करिब ४ हजार १ सय बालिकाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय, पर्साका अनुसार पहिलो दिन एक हजार दुईजना र दोस्रो दिन तीन हजार १ सय १४ जनाले खोप लगाएका छन् । बुधबार वीरगंज महानगरपालिका–१४, बहुअरी टोलस्थित मदरसामा खोप अभियानको शुभारम्भ गरिएको थियो। यो अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।
पर्सा जिल्लामा कक्षा ६–१० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका १०–१४ वर्ष उमेर समूहका ३८ हजार ६ सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । यसमध्ये ३१ हजार १६० जना विद्यालय भित्रका र ७ हजार ५२६ जना विद्यालय बाहिरका किशोरी छन् ।
खोप अभियानलाई प्रभावकारी बनाउन ३४५ वटा खोप केन्द्र स्थापना गरिएको छ भने ६९० जना स्वयंसेवक सेविका तथा १ सय १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।
हाल पहिलो चरणमा वीरगंज महानगरपालिका वडा नं. १ देखि १६, पर्सागढी र पोखरिया नगरपालिकासहित जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली तथा सखुवाप्रसौनी गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जयमोद ठाकुरले जानकारी दिएका छन् ।