सर्लाहीको लालबन्दी नगरपालिका –१२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका बालकलाई २० घण्टापछि सोमबार दिउँसो मृत फेला पारिएको छ ।
लालबन्दी नगरपालिका –११, हीरापुर बस्ने देवेन्द्र ठाकुरका छोरा १५ वर्षीय राजु ठाकुर आइतबार अपरान्ह सवा ४ बजेदेखि पोखरीमा डुबेर बेपत्ता भएका थिए । लखन्देहीखोला पारी निजी जग्गामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बेपत्ता भएका बालकलाई सोमबार दिउँसो मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।
इन्स्पेक्टर मगरका अनुसार डुङ्गा (बोेट) तथा बाँसको सहायताले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीद्वारा बालकको शव पानीबाट निकालिएको हो । डुबेर बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नं। २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट समेत सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा सोमबार बिहान सात जना गोताखोर टोली आइपुगेको थियो ।
यसअघि आइतबार साँझ पनि करिव तीन घण्टाजति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालकको खोजी गरेका थिए । आइतबार फेला नपरेका बालकलाई सोमबार बिहानैदेखि पुनः गोताखोर टोली परिचालन गरेर खोजी गर्दा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इन्स्पेक्टर मगरले बताएका छन् ।
गाउँलेका अनुसार गर्मी छल्न राजुसँगै पोखरीमा पौडी खेल्न पुगेका अन्य तीन–चार जना बालक भने सकुशल बाहिर निस्किएका छन् ।