लहान नगरपालिका वडा नं।–१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको पुरानो साख फर्किने आशा जागेको छ ।
विसं. २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा शिक्षा मन्त्री सस्मित पोखरेल विद्यालयमा पुगेर निरिक्षण गर्नुभएपछि पुरानो साख फर्किने आशा जागेको स्थानीयबासीको भनाइ छ ।
तीन दशक आगाडि तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा हाल ८०२ जना विद्यार्थी छन् । लहान वडा नं.–१४ का वडाध्यक्ष धनिकलशल यादवका अनुसार निजी विद्यालयमा अंग्रेजी मोहले विद्यार्थी संख्या घटेको हो । सिरहा–१ का सांसद बब्लु गुप्ताको विशेष पहलमा गत भदौ २७ गते शिक्षा मन्त्री पोखरेलले विद्यालयको निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा जस्तापातामुक्त र प्रविधियुक्त विद्यालय बनाउने पोखरेलले बताएपछि पुनः विद्यालयको साख फिर्ता हुने आशा जागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण यादवले सुनाएका छन् ।
उनका अनुसार लहान नगरपालिकाले यस विद्यालयको साख फिर्ता गराउन अंग्रेजी माध्यममा विद्यालय सञ्चालन गरेपछि केही सुधार भएपनि ८० वर्ष पुरानो विद्यालय भवन विस्थापित गरेर नयाँ ढलानसहितको भवन आवश्यक रहेको छ ।
यादवका अनुसार नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरिका पिता मित्रलाल गिरी र पण्डित विश्वरञ्जन बारालले स्थापना गरेको यस विद्यालयको विकासको लागि तीन दशक आगाडि पहाडे समुदायको रेखदेख र सक्रियतामा विकास भएको थियो ।
पहाडे समुदाय बस्तीपुरबाट अन्यत्र सर्दै जानु र अंग्रेजी मोह असाध्यै बढेपछि विद्यालयमा विद्यार्थी संख्या घटेर दयनीय अवस्थामा पुगेको स्थानीय जोगी यादवले बताउँछन् ।
स्थानीय मानव अधिकारवादी राजकुमार राउतका अनुसार शिक्षा मन्त्रीको आगमन र सांसद गुप्ताको पहलले विद्यालयको पठनपाठन सुधार हुने आशा जागेको छ ।
शिक्षा मन्त्रीले विद्यालयको शैक्षिक र भौतिक विकासको लागि जनाउनुभएको प्रतिबद्धताले सकारात्मक उर्जा मिलेको विद्यालयका प्रधानाध्यापक शोभानन्द चौधरीले बताए ।