पर्साको धोबिनी गाउँपालिका–५ मा घरमा चोरी भएको घटनापछि एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन्। धोबिनीका श्रीनिवास साह तुराहाकी श्रीमती ५५ वर्षीया लखराव देवी साह तुराहाको शव सोमबार बिहान घरको दोस्रो तलाको कोठामा भेटिएको हो ।
प्रहरीका अनुसार आइतबार राति श्रीनिवास पहिलो तलामा र उनकी श्रीमती दोस्रो तलामा छुट्टाछुट्टै कोठामा सुतेका थिए। सोही रात अज्ञात व्यक्ति वा समूहले घरको झ्याल फुटाएर दोस्रो तलामा प्रवेश गरेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ ।
घरभित्र प्रवेश गरेपछि दराजसमेत तोडिएको र गरगहना चोरी भएको बताइएको छ। बिहान नियमित पूजा गर्न श्रीमती नआएपछि श्रीनिवास माथिल्लो तलामा पुगेका थिए। त्यहाँ श्रीमतीलाई मृत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घरको झ्याल र दराज तोडिएको तथा गरगहना चोरी भएको सूचना प्राप्त भएको छ। चोरी भएको सामानको यकिन विवरण भने संकलन भइरहेको उनले बताए ।
मृत महिलाको टाउकोको पछाडिको बायाँ भागमा सामान्य चोट देखिएको प्रहरीले जनाएको छ। तर चोटकै कारण मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।
घटनाबारे इलाका तथा जिल्ला प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ। मृतकका दुई छोरा र दुई छोरी रहेका छन्। उनका छोराहरू व्यवसायको सिलसिलामा काठमाडौंमा बस्दै आएको परिवारले जनाएको छ ।