जीतपुरसिमरा उपमहानगरपालिका–८ मा सवारी दुर्घटनामा घाइते भएको भनिएका २४ वर्षीय राजु सहनीको उपचारका क्रममा मृत्यु भएपछि घटनालाई लिएर परिवारले हत्या भएको आशंका व्यक्त गरेको छ।
आरएमसी कम्पनीनजिक असोज २ गते राति घाइते अवस्थामा भेटिएका सहनीलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। गम्भीर अवस्थामा रहेका उनलाई काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचारका लागि लगिएकोमा असोज ४ गते आइतबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए।
सहनी गणेश चतुर्थी महोत्सवमा सहभागी भएर घर फर्किने क्रममा घाइते भएको बताइएको छ। रमौलीबाट जीतपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि बसेका सहनीले सडकमा अचानक सर्प देखेपछि आत्तिएर मोटरसाइकलबाट हाम फालेको केही स्थानीयले बताएका छन्।
तर, परिवारले भने घटनालाई सामान्य दुर्घटनाका रूपमा स्वीकार गर्न नसकिने जनाएको छ। घटनाअघि फारमको विषयलाई लिएर दुई परिवारबीच विवाद रहेको र त्यही विवादका कारण सहनीमाथि ढुङ्गा प्रहार गरी हत्या गरिएको हुन सक्ने परिवारको आशंका छ। घटनालाई दुर्घटनाको स्वरूप दिन खोजिएको आरोपसमेत परिवारले लगाएको छ।
घटनामा आरोप लगाइएका व्यक्तिसहित उनका परिवारका केही सदस्य घरमा ताल्चा लगाएर सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ। यद्यपि, उनीहरू फरार रहेको वा घटनामा उनीहरूको संलग्नता रहेको विषयमा प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन।
परिवारले घटनास्थलको अवस्था, सहनीको शरीरमा देखिएका चोटपटक र घटनाको पृष्ठभूमिलगायत विषयको सूक्ष्म अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन प्रहरीसँग माग गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले भने घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको अवस्था, सहनीलाई लागेको चोटपटक, मृत्युको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको छ।
सहनीको मृत्यु दुर्घटनाकै कारण भएको हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय अनुसन्धान पूरा भएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।