सर्लाही । सर्लाहीको बागमती नगरपालिका–११ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
गत शनिबार वर्षासँगै गएको पहिरोले बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएपछि कर्मैया–पिपलमाडी सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानका अनुसार पहिरोका कारण सडक पूर्ण रूपमा प्रभावित भएको छ ।
सडक अवरुद्ध भएपछि बिरामीलाई अस्पताल लैजानसमेत समस्या भएको छ । अन्तरप्रदेशस्तरीय उक्त सडकले पूर्व–पश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ। कर्मैया–पिपलमाडीको करिब १६ किलोमिटर सडकखण्ड अवरुद्ध भएपछि यात्रुहरू पैदल हिँड्न बाध्य भएका छन् ।
सडक बन्द भएपछि हरिहरपुरगढी गाउँपालिकाका करिब एक दर्जन गाउँका बासिन्दालाई दैनिक उपभोग्य वस्तु खरिद, औषधि उपचार तथा अन्य कामका लागि हेटौँडा वा सिन्धुली पुग्न समस्या भएको छ ।
व्यवसायी किस्मतराज मैनालीका अनुसार छोटो दूरीको सडक पहिरोले अवरुद्ध भएपछि स्थानीयले लामो बाटो हुँदै हेटौँडा पुग्नुपर्ने अवस्था आएको छ । चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा उपभोक्ता र व्यापारी दुवै प्रभावित भएको उहाँले बताउनुभयो ।
यातायात व्यवसायी कर्मा लामाका अनुसार कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारीसाधनसमेत थन्क्याएर राख्नुपरेको छ ।
यातायात सेवा अवरुद्ध भएपछि स्थानीय पैदल हिँडेरै आवतजावत गर्न तथा दाल, चामललगायत खाद्यवस्तु थाप्लोमा बोकेर लैजान बाध्य भएका छन् ।
बागमती र मधेश प्रदेश जोड्ने ‘लिङ्क रोड’का रूपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डमा चुरे क्षेत्रको करिब डेढ किलोमिटर सडक सर्लाहीतर्फ जोखिमपूर्ण रहेको स्थानीयले बताएका छन् ।