वीरगंजको मुख्य सडक विस्तार तथा सडक अतिक्रमण हटाउने अभियान अन्तिम चरणमा पुगेको छ । गण्डकदेखि मितेरीपुलसम्मको करिब सात किलोमिटर सडकखण्डमा सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने अभियानअन्तर्गत हालसम्म करिब एक हजार दुई सय संरचना हटाइसकिएको छ । यद्यपि केही महत्वपूर्ण तथा संवेदनशील संरचना अझै हटाउन बाँकी छन् ।
डिभिजन सडक कार्यालय, हेटौंडाले गत वैशाख ६ गतेदेखि सडक क्षेत्र खाली गराउने अभियान संचालन गर्दै आएको हो । अभियानअन्तर्गत निजी घर तथा व्यापारिक संरचनाका साथै सरकारी कार्यालय, स्वास्थ्य संस्था र अन्य अतिक्रमित संरचनासमेत हटाइएको छ ।
सडक कार्यालयका अनुसार अभियानको प्रारम्भिक चरणमा सडकको दुवैतर्फ २० देखि २३ मिटरसम्मको क्षेत्र खाली गराइएको थियो । पछिल्लो चरणमा भने सडक विस्तारको मापदण्डअनुसार २५–२५ मिटर क्षेत्र खाली गराउने कामलाई तीव्रता दिइएको हो ।
सडक क्षेत्रमा परेका विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्थाका संरचनासमेत हटाइसकिएका छन् । अस्पताल, रक्तसञ्चार केन्द्रलगायतका संरचना हटाइए पनि वीरगंज महानगरपालिका–३ मा रहेको नगर जनस्वास्थ्य प्रयोगशाला भने अझै संचालनमा रहेको छ । सडक क्षेत्रभित्र परेको प्रयोगशाला खाली गराउने विषयमा भने सम्बन्धित निकायबीच स्पष्ट प्रगति देखिएको छैन ।
यस्तै, नेपाली सेनाको ब्यारेक, प्रहरी कार्यालय, मठमन्दिर तथा मस्जिदलगायतका केही संरचना अझै बाँकी छन् । धार्मिक संरचनालाई तत्काल यथास्थानमै राख्ने नीति महानगरपालिकाले लिएको बताइन्छ । त्यसैले सडक क्षेत्र पूर्णरूपमा खाली गराउने काममा केही संरचना चुनौतीका रूपमा रहेका छन् ।
१५ मिटरमै सीमित गर्न माग
सडक विस्तारका क्रममा संरचना हटाइएका क्षेत्रका धनीहरूले भने २५ मिटर खाली गराउने निर्णयप्रति असहमति जनाउँदै आएका छन् । उनीहरूले वीरगंज महानगरपालिकाको नगरसभाले यसअघि सडकको दायाँ–बायाँ १५–१५ मिटर मात्र क्षेत्र खाली गराउने निर्णय गरेको दाबी गर्दै सोही निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
यसअघि पनि पटक–पटक यो माग उठाउँदै आएका प्रभावित पक्ष पछिल्लो समय पुनः संगठित हुन थालेका छन् । केही दिनअघि उनीहरू वीरगंज उद्योग वाणिज्य संघमा भेला भएका थिए । त्यसपछि उनीहरूले महानगरप्रमुख राजेशमान सिंहलाई भेटेर आफूहरूको मागबारे ध्यानाकर्षण गराएका थिए ।
प्रभावित पक्षले नगरसभाको निर्णय कायम रहेको अवस्थामा त्यसविपरीत थप संरचना हटाउन नहुने तर्क गर्दै आएको छ । उनीहरूले सडक विस्तारका नाममा आफूहरूमाथि अन्याय भएको भन्दै माग सम्बोधनका लागि दबाब बढाउने तयारी गरेका छन् ।
यसै क्रममा उनीहरूले सडक विस्तारको विषयमा दबाब सिर्जना गर्न बुधवार वीरगञ्जमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । विरोध प्रदर्शनसँगै सडक विस्तारको मापदण्ड, महानगरको पुरानो निर्णय र सडक कार्यालयको कार्यान्वयनबीचको विवाद थप सतहमा आउने देखिएको छ ।
यसअघि नै ठूलो संख्यामा संरचना हटिसकेको अवस्थामा बाँकी संरचनाको व्यवस्थापन र प्रभावित पक्षको माग सम्बोधन कसरी गर्ने भन्ने विषय अब सडक विस्तारको मुख्य चुनौती बनेको छ । गण्डकदेखि मितेरीपुलसम्मको सडक क्षेत्र पूर्णरूपमा खाली भएपछि मात्र विस्तारको भौतिक कामलाई थप गति दिन सहज हुने सडक कार्यालयको तयारी छ ।