पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा सार्वजनिक तथा कृषि वन क्षेत्र संरक्षण गर्दै वृक्षरोपण अभियान सुरु गरिएको छ।
फुलबारी टोलमा आयोजित वृक्षरोपण उद्घाटन समारोहबीच करिब २० बिघा क्षेत्रफलमा वृक्षरोपण गर्ने अभियान अघि बढाइएको हो। स्थानीय व्यवस्थापन समूहको पहलमा कृषि वन तथा सार्वजनिक जग्गालाई व्यवस्थित, संरक्षण र सदुपयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ।
वृक्षरोपण उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं. ४ पूर्व सांसद रमेश रिजाल, प्रदेश सांसद शंकर चौधरी, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त यादव लगायत वन तथा वातावरणसँग सम्बन्धित निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा सार्वजनिक जग्गाको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्ने तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्ने विषयमा जोड दिइएको थियो।
व्यवस्थापन समूहले लामो समयदेखि उपयोगविहीन तथा उचित संरक्षणको अभावमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित गर्दै वृक्षरोपणका लागि प्रयोगमा ल्याउने योजना अघि सारेको जनाएको छ। पहिलो चरणमा करिब २० बिघा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी गरिएको छ।
स्थानीय स्तरमा सार्वजनिक जग्गाको संरक्षणसँगै कृषि वनको विकास गर्ने र वातावरणीय संरक्षणलाई प्राथमिकता दिने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। वृक्षरोपण गरिएका बिरुवाको संरक्षण तथा हुर्काउने जिम्मेवारीसमेत व्यवस्थापन समूह र स्थानीय समुदायको सहकार्यमा अघि बढाइने छ।
करिब २० बिघा क्षेत्रमा वृक्षरोपण पूरा भएपछि लक्ष्मीपुरको फुलबारी टोलमा हरियाली क्षेत्र विस्तार हुनुका साथै सार्वजनिक जग्गाको संरक्षणमा समेत टेवा पुग्ने सरोकारवालाको भनाई छ ।