रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार भोला साहको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न मोबाइल पार्ट्स फेला परेका हुन्। बरामद सामानको मूल्य ५० लाख १४ हजार ५०१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका गणपति एसपी चेतराज जोशीको नेतृत्वमा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले घरमा छापा मारेको थियो ।
खानतलासीका क्रममा मोबाइल पार्ट्ससँगै दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद सामान तथा नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
मोबाइल पार्ट्स कहाँबाट ल्याइएको हो, त्यसको स्रोत तथा घटनामा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।