नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम समाचार बुलेटिनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणका लागि आवश्यक सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना जारी गरेको छ।
मौसम पूर्वानुमान अनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। उत्तर–अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै “डीप डिप्रेसन” मा परिणत भई नेपालतर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा मध्यमदेखि धेरै भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा विशेषगरी तराई क्षेत्रमा डुबानको उच्च जोखिम रहने भएकाले प्रशासनले सम्भावित क्षति न्यूनीकरण र पूर्वतयारीका लागि देहाय बमोजिमका कार्यहरू गर्न र गराउन सबैमा अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ ।
वर्षातको समयमा अत्यन्त जरुरी नपरी टाढा र रातको समयमा यात्रा नगर्न अनुरोध गरिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी गरिएको सूचनामा जिल्लाका साना तथा ठूला खोला र नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै आकस्मिक बाढी आउन सक्ने खोला, खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र नदी किनाराका बासिन्दाहरूलाई बढी चनाखो रहन आग्रह गरिएको छ।
वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, विपद्मा मद्दत माग्नका लागि ११३४, नेपाल प्रहरीको हटलाइन नम्बर १०० र सशस्त्र प्रहरी बलको हटलाइन नम्बर १११४ मा तुरुन्त सम्पर्क गर्न सूचित गरिएको छ।