०१. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी अझै अनिश्चित
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे सरकार अझै स्पष्ट निर्णयमा पुग्न सकेको छैन। प्रारम्भिक चरणमा करिब डेढ अर्ब रुपैयाँ खर्च भइसके पनि विमानस्थलको मुख्य निर्माण कार्य भने सुरु हुन सकेको छैन।
सरकारले जग्गा अधिग्रहण, मुआब्जा वितरण, तारबार, नदी नियन्त्रण, वातावरणीय अध्ययन तथा डिजाइनलगायत पूर्वतयारीका काममा रकम खर्च गरेको छ। तर विमानस्थल निर्माणमा सरकारी लगानी, निजी तथा विदेशी लगानी वा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मध्ये कुन मोडालिटी अपनाउने भन्ने विषय टुंगो लाग्न सकेको छैन।
०२. उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत
उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा लालुप्रसाद अग्रवाल सर्वसम्मत चयन भएका छन्। संघको १२औँ साधारणसभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन्।
यसअघि पनि अग्रवाल नै संघको अध्यक्ष थिए। साधारणसभाबाट उद्योगतर्फको उपाध्यक्षमा दुर्गानन्द साह र वाणिज्यतर्फको उपाध्यक्षमा अमृतकुमार संचेती चयन भएका छन्।
त्यस्तै, महासचिवमा सुरेन्द्रप्रसाद साह, सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार काबरा र सहकोषाध्यक्षमा निर्मलकुमार मुन्धडा चयन भएका छन्।
०३. भन्सारको छापा विरोधमा महेन्द्रनगरका व्यापारीले बजार बन्द गरे
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका स्थानीय व्यापारीले बजार बन्द गरी प्रदर्शन गरेका छन्। जनकपुर भन्सार कार्यालयले स्थानीय व्यापारीको गोदाममा छापा मारेर सामान नियन्त्रणमा लिएको विरोधमा क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघको अगुवाइमा व्यापारीले प्रदर्शन गरेका हुन्।
आइतबार जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले महेन्द्रनगरस्थित व्यापारी शिवशंकर साहको शंकर शम्भु जनरल स्टोरको गोदाममा छापा मारेको थियो।
टोलीले गोदामबाट खर्बुजाको बीउ, बदाम, पार्ले चकलेटलगायतका सामान नियन्त्रणमा लिएको थियो। त्यसको विरोधमा व्यापारीले बजार बन्द गर्दै प्रदर्शन गरेका हुन्।
०४. लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा
सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७, चैनपुरासम्मको लालबन्दी–सलेमपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
आयोजनाअन्तर्गत चैनपुरामा निर्माण गरिएको १३२/३३/११ केभी सबस्टेसनसमेत सञ्चालनमा आएको छ। सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए क्षमताका दुई वटा तथा ३३/११ केभी, २४ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ।
यससँगै सबस्टेसनको कुल क्षमता ८४ एमभीए पुगेको प्राधिकरणले जनाएको छ।
०५. वीरगंजमा २० लाखभन्दा बढीको औषधि तथा खाद्यान्न बरामद
भन्सार छली गरी भारतबाट ल्याइएको आशंकामा पर्सा प्रहरीले ठूलो परिमाणमा औषधि तथा खाद्यान्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा र छपकैयाबाट प्रहरीले २० लाख ८१ हजार २२० रुपैयाँ मूल्य बराबरका औषधि तथा खाद्यान्न सामग्री नियन्त्रणमा लिएको हो।
बरामद सामग्री आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
०६. कांग्रेस महाधिवेशन तयारीका लागि पर्सामा संगठनात्मक गतिविधि सुरु
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीका लागि पर्सामा संगठनात्मक गतिविधि सुरु गरिएको छ।
महाधिवेशन तयारीका क्रममा पर्साका पर्यवेक्षक प्रतिनिधि सुरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कांग्रेसभित्र देखिएको विवाद संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा न्यौपानेले जोड दिएका थिए।
उनले पार्टीका दुई पक्षबीच आपसी संवादमार्फत समस्या समाधान गर्दै पार्टीको एकता कायम राख्न आग्रह गरेका छन्।
०७. गौरमा ५० लाखभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद
रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार भोला साहको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न मोबाइल पार्ट्स फेला परेका हुन्। बरामद सामानको मूल्य ५० लाख १४ हजार ५०१ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका गणपति एसपी चेतराज जोशीको नेतृत्वमा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले घरमा खानतलासी गरेको थियो।
०८. वीरगंजको मुख्य सडक विस्तारविरुद्ध घरधनी र व्यापारीको मौन जुलुस
वीरगंजको मुख्य सडकमा भवन भत्काइएको विरोधमा घरधनी तथा व्यापारीहरूले बुधबार मौन जुलुस निकाल्दै प्रदर्शन गरेका छन्।
त्रिभुवन राजपथको नाममा वीरगंजको मुख्य सडक क्षेत्रमा रहेका संरचना भत्काएर बजार क्षेत्र प्रभावित बनाइएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।
होटल मकालुबाट सुरु भएको मौन जुलुस माइस्थान चोकसम्म पुगेको थियो। प्रदर्शनमा सहभागी घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै दुःख र विरोध व्यक्त गरेका थिए।
०९. जगरनाथपुरमा २० बिघा क्षेत्रमा वृक्षरोपण अभियान सुरु
पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा सार्वजनिक तथा कृषि वन क्षेत्र संरक्षण गर्दै वृक्षरोपण अभियान सुरु गरिएको छ।
फुलबारी टोलमा आयोजित वृक्षरोपण उद्घाटन समारोहबीच करिब २० बिघा क्षेत्रफलमा वृक्षरोपण गर्ने अभियान अघि बढाइएको हो।
स्थानीय व्यवस्थापन समूहको पहलमा कृषि वन तथा सार्वजनिक जग्गालाई व्यवस्थित, संरक्षण र सदुपयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा पर्सा क्षेत्र नं. ४ का पूर्वसांसद रमेश रिजाल, प्रदेश सांसद शंकर चौधरी, जगरनाथपुर गाउँपालिकाका प्रमुख श्रीकान्त यादवलगायत वन तथा वातावरणसम्बन्धी निकायका प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो।
१०. सिरहामा दुई महिनामा १ करोड १५ लाखभन्दा बढीको अवैध सामान बरामद
नेपाल–भारत सीमा क्षेत्रमा भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले सञ्चालन गरेको निगरानी तथा गस्ती अभियानका क्रममा सिरहामा पछिल्लो दुई महिनामा १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार सोमबार मात्रै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरका भन्सार छली गरी नेपाल भित्र्याइएका तथा भारततर्फ लैजान खोजिएका सामान बरामद गरिएको हो।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ।