वीरगन्जमा भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका २० लाख ८१ हजार २ सय २० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न प्रकारका औषधि प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालित प्रहरी टोलीले बुधबार वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छपकैयाबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका खाद्यान्न तथा औषधि फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बरामद सामानको मूल्य २० लाख ८१ हजार २ सय २० रुपैयाँ रहेको जानकारी दिए ।
बरामद गरिएका खाद्यान्न तथा औषधि आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।