पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आबद्ध भएका छन् ।
जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत ३६ वर्षीय इफ्तिखारलाई विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।
दायाँहाते ब्याटर इफ्तिखार अफ-स्पिन बलिङसमेत गर्ने अलराउन्डर हुन् । उनले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९९८ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा भने उनले ३२९ खेल खेल्दै ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट लिएका छन् ।
इफ्तिखारले पाकिस्तान सुपर लिग (पीएसएल), लंका प्रिमियर लिग एलपीएल बंगलादेश प्रिमियर लिग बीपीएल र क्यारेबियन प्रिमियर लिग सीपीएल लगायतका फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन् । उनलाई क्रिकेट समर्थकहरूले ‘चाचा’ उपनामले समेत सम्बोधन गर्छन् ।
नेपाली क्रिकेट समर्थकमाझ पनि इफ्तिखार परिचित छन्। २०२३ को एसिया कपमा नेपालविरुद्ध उनले आक्रामक ब्याटिङ गर्दै टी–२० बाहेकको अन्तर्राष्ट्रिय करियरमा आफ्नो पहिलो शतक पूरा गरेका थिए । उनले ७१ बलमा अविजित १०९ रन बनाएका थिए, जसमा ११ चौका र ४ छक्का सामेल थियो ।
इफ्तिखारको अनुभव, पावर हिटिङ र अफ-स्पिन बलिङबाट एनपीएलको आगामी संस्करणमा जनकपुर बोल्ट्सलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।