मधेश प्रदेशमा चौपायामा लाग्ने “लम्पी स्किन” रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । गत जेठमा फाट्टफुट्ट देखा परेको यो रोगको समयमै खोप, उपचार तथा नियन्त्रण प्रभावकारी नहुँदा प्रदेशका आठ जिल्ला प्रभावित बनेका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मधेश प्रदेशका अनुसार “लम्पी स्किन” बाट गाईगोरु र बाच्छाबाच्छी गरी १७५ चौपाया मरिसकेका छन् भने १० हजारभन्दा बढी चौपाया थलिएका छन् । माग अनुसार खोपको आपूर्ति हुन नसक्दा सङ्क्रमित चौपायाको सङ्ख्या बढ्न सक्ने जनाइएको छ ।
निर्देशनालयका अनुसार “लम्पी स्किन” बाट सबैभन्दा बढी सिराहामा १४४ चौपाया मरेका छन् । महोत्तरीमा ३१, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा पाँच र धनुषामा चार चौपाया मरेका हुन् । बारा र पर्सा जिल्लमा सङ्क्रमणबाट मरेका चौपायाको विवरण सङ्कलन भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. राजकुमार साहका अनुसार प्रदेशका आठ जिल्लामध्ये सप्तरीमा यसको सङ्क्रमण उच्च छ । जिल्लागत रूपमा सिराहा, धनुषा, महोत्तरी र रौतहटमा बढी प्रकोप देखिएको छ ।
डा. साहले भने, “प्रदेशका आठ वटै जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयबाट निर्देशनालयलाई प्राप्त पछिल्लो विवरण अनुसार सप्तरीमा पाँच हजार ९५७, सिराहामा एक हजार दुई सय, धनुषामा आठ सय, महोत्तरीमा ७४०, सर्लाहीमा चार सय र पर्सामा ४५ गरी “लम्पी स्किन” बाट १० हजारभन्दा बढी चौपाया थलिएका छन् ।”
जनकपुरस्थित क्षेत्रीय रोग अन्वेषण प्रयोगशालाले आवश्यक मात्रामा खोप उपलब्ध गराउन नसक्दा प्रकोप नियन्त्रणमा चुनौती थपिएको छ । भेटेरिनरी असपताल तथा पशुसेवा विज्ञ कार्यालय महोत्तरीका सूचना अधिकारी एवं वरिष्ठ पशु अधिकृत विजय पाण्डेले महोत्तरीका १५ वटै पालिका सङ्व्रmमणको चपेटामा परेको जानकारी दिए । उनका अनुसार नियन्त्रणका लागि महोत्तरीमा अहिले पनि ३० हजार खोप आवश्यक छ । डा. पाण्डेले भने, “भदौतिर जनकपुर ल्याब (प्रयोगशाला) ले उपलब्ध गराएको तीन हजार एक सय खोपले गौशाला, मनरासिसवा नगरपालिका र महोत्तरी गाउँपालिकाका लागि मात्र पुग्यो । खोप अभावले बाँकी १२ वटा स्थानीय तहमा प्रभावकारी नियन्त्रण अभियान चलाउन सकिएको छैन ।”

नयाँ आर्थिक वर्ष सुरु भएको तेस्रो महिना लागिसक्दा पनि कार्यालयका खाता खोल्ने र लगत्तै रोक्का गर्ने प्रदेश सरकारको अस्थिर प्रवृत्तिका कारण बजेट परिचालनमा समस्या हुँदा नियन्त्रण अभियान प्रभावकारी बनेको केन्द्रले जनाएका छन् । पशुविज्ञका अनुसार “पक्स” समूहको भाइरसबाट लाग्ने “लम्पी स्किन” बाट सङ्व्रmमित चौपायामा उच्च ज्वरो आउने, अत्यधिक (याल झर्ने, आँखामा समस्या देखिने तथा नाकबाट पानी बग्ने जस्ता लक्षण देखिन्छन् । शरीरमा दुईदेखि पाँच सेन्टिमिटरसम्मका कडा गाँठा आउने, चिलाउने र पिप भरिएर फुट्ने समस्या पनि देखिएको छ । सङ्क्रमणका कारण गर्भिणी गाईमा गर्भपतन हुने, दुध उत्पादन घट्ने वा पूर्ण रूपमा बन्द हुने तथा सङ्क्रमित चौपाया अशक्त भई मर्न सक्छन् ।