मधेस प्रदेशको राजधानी तथा प्रमुख धार्मिक पर्यटकीय सहर जनकपुरधाममा फोहर व्यवस्थापन प्रभावकारी हुन नसक्दा सहरको सौन्दर्यसँगै धार्मिक पर्यटनमा समेत असर परेको छ ।
भगवान राम र माता जानकीको दर्शन तथा पूजाका लागि दैनिक ठूलो संख्यामा भक्तजन र पर्यटक जनकपुरधाम पुग्ने गर्छन्। विशेषगरी भारतीय पर्यटकको उल्लेख्य उपस्थिति रहने जनकपुरका विभिन्न सडक, चोक र सार्वजनिक स्थलमा जथाभावी थुप्रिएको फोहरका कारण आगन्तुकहरू असहज हुने गरेका छन् ।
जानकी चोक, अस्पताल रोड, मुरली चोक, पिडारी चोक, रामानन्द चोक, जनक चोक र भानुचोकलगायत क्षेत्रमा फोहर थुप्रिएको देखिन्छ। मुख्य सडकभन्दा भित्री सडक र सार्वजनिक स्थलको अवस्था झन् कमजोर रहेको स्थानीयको भनाइ छ ।
फोहरका कारण दुर्गन्ध फैलिनुका साथै लामखुट्टेको समस्या पनि बढेको स्थानीय बताउँछन् । सार्वजनिक स्थलमा केही समय बस्नसमेत कठिन हुने अवस्था रहेको उनीहरूको गुनासो छ ।
जनकपुरधाम–१० का स्थानीय संजय कुमार कर्णका अनुसार सहरमा फोहरको समस्या नयाँ होइन। उपमहानगरपालिकाले ट्रयाक्टर र सफाइकर्मी परिचालन गरेर नियमित रूपमा फोहर उठाउँदै आए पनि नागरिकले जथाभावी फोहर फाल्ने प्रवृत्तिका कारण समस्या दोहोरिने गरेको उनको भनाइ छ।
उनले फोहर सङ्कलन गर्ने सवारीसाधन निश्चित समयमा आउने भएकाले स्थानीयले त्यही समयमा घरको फोहर उपलब्ध गराउने र अन्य समयमा सडकमा नफाल्ने बानी बसाल्नुपर्ने बताए। फोहर व्यवस्थापनमा स्थानीय तहसँगै नागरिकको पनि जिम्मेवारी रहने उनले बताए ।
प्रादेशिक अस्पताल आसपासको क्षेत्रदेखि जानकी मन्दिर जाने सडकसम्म फोहरको समस्या देखिने गरेको छ। सडक किनारमा फलफूल, नास्ता तथा अन्य सामग्री बिक्री गर्ने ठेला व्यवसायीहरू पनि फोहरको आसपासमै बसेर व्यापार गर्न बाध्य छन् ।
जानकी चोकमा प्रसाद सामग्री बिक्री गर्दै आएकी रिना साहका अनुसार बिहान सफाइ भएपछि केही समय क्षेत्र सफा देखिए पनि दिनभरिमा फेरि फोहर जम्मा हुने गरेको छ। उनका अनुसार स्थानीयले जथाभावी फोहर फाल्ने गरेका कारण समस्या बढिरहेको छ ।
जनकपुर उपमहानगरपालिकाले प्रत्येक वडामा ट्रयाक्टर, सफाइकर्मी र मेस्तर परिचालन गरी बिहानै फोहर सङ्कलन गर्दै आएको जनाएको छ। तर, बिहान फोहर उठाएपछि स्थानीयले दिनभरि पुनः सडक तथा सार्वजनिक स्थानमा फोहर थुपार्ने गरेका कारण नियमित सफाइ प्रभावकारी हुन नसकेको देखिन्छ।
भारतको कानपुरबाट पहिलोपटक जनकपुरधाम आएका एक पर्यटकले अन्य धार्मिक तथा तीर्थस्थलको तुलनामा जनकपुरको सरसफाइ कमजोर देखिएको बताए। जानकी मन्दिर दर्शनका लागि आएका उनले सहरका विभिन्न स्थानमा देखिएको फोहरले आफूहरूलाई असहज बनाएको प्रतिक्रिया दिए।
जनकपुरका ऐतिहासिक पोखरीहरूको अवस्था पनि उस्तै रहेको स्थानीयको गुनासो छ। केही पोखरी सफा देखिए पनि अधिकांश पोखरीमा प्लास्टिक, कागज, झारपातलगायत फोहर थुप्रिएको पाइन्छ। कतिपय पोखरीमा आसपासका घरबाट निस्कने ढलसमेत मिसिने गरेको स्थानीयको आरोप छ ।
जनकपुर–९ साकेतनगरका अमरेन्द्र मल्लिकले पोखरी सौन्दर्यीकरणका नाममा विभिन्न तहका सरकारले बजेट खर्च गरे पनि त्यसको दिगो व्यवस्थापन हुन नसकेको बताए। उनका अनुसार पोखरी र आसपासको क्षेत्रलाई नियमित रूपमा सफा राख्न दीर्घकालीन योजना आवश्यक छ ।
स्थानीयका अनुसार जनकपुरधामको फोहर व्यवस्थापन सुधारका लागि उपमहानगरपालिकाको नियमित सरसफाइसँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको सहर भएकाले सार्वजनिक स्थानमा फोहर फाल्ने प्रवृत्ति नियन्त्रण, नियमित सङ्कलन र प्रभावकारी व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।