काठमाडौं — भारतको उडिसा राज्यस्थित किट विश्वविद्यालयमा भएको घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको भारतीय प्रहरी अधिकारीहरूले जनाएका छन् ।
नेपालस्थित भारतीय दूतावासका अनुसार भुवनेश्वर प्रहरी विभागले हालै जारी गरेको प्रेस वक्तव्यमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सोही विश्वविद्यालयका विद्यार्थी उड्वेक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा राखिएको जानकारी दिएको छ ।
त्यस्तै, नेपाली विद्यार्थीमाथि हातपात गरेको आरोपमा विश्वविद्यालयका चार जना सुरक्षाकर्मीलाई सोमबार नियन्त्रणमा लिइएको छ । पक्राउ पर्ने सुरक्षाकर्मीहरूमा रमाकान्त नायक, रविन्द्र नायक, जोगेन्द्र बेहेरा र बेंगुली बेहेरा रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।