रौतहटमा दुई जनाको गोली हानी हत्या भएको १९ वर्ष पुरानो घटनामा संलग्न मुख्य अभियुक्तको पहिचान खुलेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तत्कालीन भूमिगत संगठन तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका जिल्ला कमाण्डरलाई शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार साविक पोठियाही गाविस–८, हाल गरुडा नगरपालिका–६ का सुरेन्द्रप्रसाद यादव ‘बारुद सिंह’ नामले उक्त समूहमा सक्रिय थिए। उनी हाल अर्को आपराधिक मुद्दामा कारागारमा छन् ।
इलाका प्रहरी कार्यालय गरुडाले २०६४ वैशाख ३१ गते राति भएको हत्याको पुनः अनुसन्धान गर्ने क्रममा यादवको संलग्नता खुलेको जनाएको छ। त्यस रात साविक धर्मपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा गोली प्रहारबाट दुई जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार साविक पिपरिया गाविस–३, हाल गरुडा नगरपालिका–७ का ३२ वर्षीय नागेन्द्र बैठा र साविक गेड्हीगुठी गाविस–९, हाल गरुडा नगरपालिका–२ का २८ वर्षीय प्रमानन्द सहनीको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर आचार्यले निरन्तरको अनुसन्धान र ताकेतापछि घटनाको मुख्य योजनाकारका रूपमा यादवको पहिचान भएको बताए ।
उनका अनुसार अर्को आपराधिक मुद्दामा गौर कारागारमा सजाय भोगिरहेका यादवलाई अनुसन्धानका क्रममा मुख्य अभियुक्तका रूपमा पहिचान गरिएको हो। बैठा र सहनीको हत्या यादवकै योजनामा तथा उनको संलग्नतामा भएको प्रहरीको दाबी छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।