मधेश प्रदेशमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक वर्षमा ३ हजार १६७ वटा मुद्दा दर्ता भएका छन् ।
ओसीएमसी लैङ्गिक हिंसाबाट प्रभावित तथा पीडितलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, कानुनी सहजीकरण, सुरक्षा तथा पुनर्स्थापनासम्बन्धी सेवा उपलब्ध गराउँदै आएको सरकारी निकाय हो ।
जनकपुरधाममा असोज ७ र ८ गते आयोजित ओसीएमसीको समीक्षा तथा राष्ट्रिय कार्ययोजनाको स्थानीयकरणसम्बन्धी कार्यशालामा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार दर्ता भएका केसमा ८९.७ प्रतिशत महिला छन् ।
पुरुषतर्फ १० प्रतिशत र अन्य समूहमा ०.३ प्रतिशत रहेको छ । जातीय समूहअनुसार मधेशी समुदायका ४७.५ प्रतिशत, दलित २२.३ प्रतिशत, मुस्लिम १४.९ प्रतिशत र अन्य समूहका १५.३ प्रतिशत छन् ।
हिंसाका घटनामध्ये भावनात्मक हिंसा ४२ प्रतिशत, शारीरिक हिंसा २४ प्रतिशत र यौन दुर्व्यवहार २१.७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । १३० वटा केस अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित छन् ।
यस्तै, पीडकको सम्बन्ध खुलेका घटनामध्ये ६७ प्रतिशतमा आफन्तबाटै हिंसा भएको पाइएको छ ।
ओसीएमसी केन्द्रहरूले सेवा पहुँच विस्तारका लागि अस्पतालस्तरमा विभिन्न प्रयास गरिरहेका छन् । गजेन्द्रनारायण सिंह अस्पतालले मानसिक स्वास्थ्य उपचार, घर पुनर्मिलन, सीपसँग आबद्धता तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गरेको छ ।
जनकपुररएमआईएचएसले घरदैलो कार्यक्रम, स्वास्थ्यकर्मी अभिमुखीकरण तथा सडक नाटकमार्फत सचेतना फैलाउँदै आएको छ । कलैया अस्पतालले रेफरल प्रणाली विकास गरिरहेको छ भने जलेश्वर अस्पतालमा छुट्टै ओसीएमसी सेवा कक्ष तथा कानुनी सहजीकरणको व्यवस्था गरिएको छ ।
तर, ओसीएमसी सञ्चालनमा जनशक्ति, बजेट, सुरक्षित आवास र पुनर्स्थापनाको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ । फरेन्सिक तथा तालिमप्राप्त चिकित्सकको कमी, मनोचिकित्सक तथा क्लिनिकल मनोविद्को सीमित उपलब्धता र हिंसा पीडितका लागि पुनर्स्थापना केन्द्रको अभाव रहेको समीक्षामा उल्लेख छ ।
अधिकांश जिल्लामा सुरक्षित आवास गृह नहुँदा हिंसा पीडितलाई सुरक्षित रूपमा राख्नसमेत कठिनाइ भइरहेको छ ।
कार्यशालाले ओसीएमसी सेवालाई प्रभावकारी बनाउन २४ घण्टा निस्शुल्क तथा एकीकृत सेवा, सुरक्षित र गोप्य वातावरण, केस व्यवस्थापन, रेफरल तथा फलोअप प्रणाली सुदृढीकरण र स्थानीय तह, प्रहरी तथा अन्य सेवा प्रदायकबीच समन्वय बढाउनुपर्नेमा जोड दिइएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशकी बरिष्ठ नर्स सुनिता गुप्ताले बताइन् ।