रौतहटमा प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, भन्सार छली भारततर्फ लैजाँदै गरेको सोफी रक्सी तथा भारतबाट अवैध रूपमा भित्र्याइएका बोइलर कुखुरा बरामद गरेको छ ।
यमुनामाई गाउँपालिका–४ स्थित सरुअठादेखि झुलुङ्गे पुल जाने बाटोमा जाँच गर्ने क्रममा प्रहरीले ५ किलो २५० ग्राम गाँजासहित दुर्गाभगवती गाउँपालिका–१ का २६ वर्षीय पुजन साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। साहको गुम्ती पसलमा खानतलासी गर्दा थप २५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, राजदेवी नगरपालिका–९ ब्रह्मपुरीमा नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गरिएको ६४ कार्टुन सोफी रक्सी बरामद भएको छ । प्रहरीले रक्सी ओसार्न प्रयोग गरिएको इलेक्ट्रोनिक लोडरसहित चालक सोही स्थानका ४५ वर्षीय सुरेन्द्र गोसाईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ । बरामद रक्सीको मूल्य करिब ६७ हजार २०० रुपैयाँ रहेको छ ।
यसैगरी, परोहा नगरपालिका–८ नरकटिया आँप बगैँचाबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १३७ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ । पाँच वटा साइकलमा ल्याइँदै गरेको ४११ किलो कुखुरा, अन्दाजी १ लाख २३ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
बरामद कुखुरा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।