रौतहटमा प्रहरीले ५ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–१ गङ्गापिपराका २६ वर्षीय पुजन साह रहेका छन् ।
शनिबार दिउँसो यमुनामाई गाउँपालिका–४ स्थित सरुअठादेखि झोलुङ्गे पुल जाने बाटोमा रोकी राखिएको मोटरसाइकल शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। त्यस क्रममा मोटरसाइकलमा रहेको झोलाबाट ५ किलो २५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अस्थायी प्रहरी पोस्ट बमनहरबाट प्रहरी सहायक निरीक्षक सञ्जिव कुमार साहको कमाण्डमा खटिएको टोलीले गाँजासहित मोटरसाइकल र चालक साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।