धनुषाको मिथिला नगरपालिका –११, बाहुनमारास्थित आँपगाछीमा पहिरोले घर भत्किँदा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर २९ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले वर्षाका कारण आइतबार बिहान ७ः३० बजे पहिरोले घर भत्किएको बताउनुभयो ।
घर भत्किँदा श्रेष्ठ घरभित्रै पुरिएको र उद्धारको क्रममा उहाँको मृत्यु भइसकेको अवस्थामा शव निकालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी टोलीले भत्किएको घरको भग्नावशेष हटाएर श्रेष्ठको शव बाहिर निकालेको हो । उद्धारपछि शव परीक्षणका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।
पहिरो जाने क्रममा घरभित्र पाँच जना रहेकोमा चार जना भने समयमै बाहिर निस्किएर ज्यान जोगाउन सफल भएको बताउँदै उहाँले घटनाबारे थप विवरण सङ्कलन तथा आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।