०१. तीन महिनामा मधेशबाट २७ करोड ८५ लाखभन्दा बढीका अवैध सामान बरामद
मधेश प्रदेशमा सीमा सुरक्षा तथा चोरी–तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले कडाइ गरेको छ । पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले करिब २७ करोड ८५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।
बरामद सामानमा किराना, कपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स र कस्मेटिकलगायत छन् । तस्करीमा प्रयोग भएका १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
यस क्रममा ८४ जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रणतर्फ १९३ ग्राम ब्राउन सुगर, ९ किलो ५०० ग्राम चरेस र १ हजार ६ सय ६ किलोभन्दा बढी गाँजा बरामद गरिएको छ। यस्तै, विभिन्न घटनामा मानव बेचबिखनमा संलग्न रहेको आशंकामा ५९ जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
०२. धनुषामा पहिरोले घर भत्किँदा एक महिलाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित आँपगाछीमा पहिरोले घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २९ वर्षीया कमला श्रेष्ठ घरभित्रै पुरिएकी थिइन् । अविरल वर्षाका कारण पहिरो गएर घर भत्किएपछि उनी भग्नावशेषमा पुरिएकी हुन् ।
उद्धारका क्रममा श्रेष्ठको शव निकालेर परीक्षणका लागि बर्दिवास अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाका बेला घरभित्र रहेका पाँच जनामध्ये चार जना भने समयमै बाहिर निस्किएर सुरक्षित भएका छन् ।
०३. रौतहटमा गाँजा, सोफी रक्सी र अवैध कुखुरा बरामद
रौतहट प्रहरीले छुट्टाछुट्टै स्थानबाट गाँजा, सोफी रक्सी तथा भारतबाट अवैध रूपमा ल्याइएका बोइलर कुखुरा बरामद गरेको छ ।
यमुनामाई गाउँपालिका–४ बाट ५ किलो २५० ग्राम गाँजासहित २६ वर्षीय पुजन साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको पसलबाट थप २५० ग्राम गाँजा बरामद भएको छ ।
यस्तै, राजदेवी नगरपालिका–९ बाट भारततर्फ लैजान लागिएको ६४ कार्टुन सोफी रक्सीसहित चालक सुरेन्द्र गोसाई पक्राउ परेका छन् । परोहा नगरपालिका–८ बाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेका १३७ वटा बोइलर कुखुरा पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद कुखुरा स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।
०४. भारी वर्षाले सर्लाही जलमग्न, १० भन्दा बढी पालिकामा विद्युत् अवरुद्ध
अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
भारी वर्षाले जनजीवन प्रभावित हुनुका साथै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि दक्षिणी भेगका १० भन्दा बढी पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हरिपूर्वालगायतका क्षेत्रमा घरभित्र पानी पसेको छ भने बागमती, लखन्देहीलगायतका खोलामा पानीको बहाव बढ्दै गएको छ । वर्षाका कारण कच्ची घर भत्किनुका साथै धान, तरकारीलगायतका बालीमा समेत क्षति पुगेको छ ।
लगातार वर्षा भइरहेकाले बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
०५. पर्सामा चोरी र महिलाको हत्या आरोपमा तीन युवक पक्राउ
पर्साको धोबिनी गाउँपालिका–५, धोबिनीमा घरमा चोरी तथा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय चन्दनकुमार पटेल, राज कपुर बैठा र रामु पासवान रहेका छन् ।
प्रहरीका अनुसार असोज ४ गते राति चोरी गर्ने योजनासहित घरमा प्रवेश गरेका उनीहरूले नगद तथा गरगहना चोरी गर्ने क्रममा ६२ वर्षीया लखरजिया देवीलाई धारिलो वस्तुले प्रहार गरी हत्या गरेको आरोप छ ।
घटनाको अनुसन्धानपछि प्रहरीले पटेललाई वीरगञ्जबाट तथा बैठा र पासवानलाई धोबिनीबाट पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट चोरी भएको नगद तथा सुनका गहनासहित स्प्रिङ पत्ता, पिलास र चक्कुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
०६. लालबकैया नदीको बाढीले रौतहटमा तटबन्ध कटान तीव्र
अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीले रौतहटको मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित तटबन्धमा तीव्र कटान भइरहेको छ ।
तटबन्ध कमजोर बन्दै गएपछि मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहितका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजालसहितको टोलीले जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । प्रशासनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जोखिम क्षेत्रमा परिचालन गरी नदीको बहाव तथा तटबन्धको अवस्था निरन्तर निगरानी गर्न निर्देशन दिएको जनाएको छ ।
०७. पोखरियाका दुई विद्यालयलाई उपकार सेवा नेपालद्वारा ५ थान पंखा सहयोग
पर्साको पोखरिया नगरपालिका–६ र ८ का दुई विद्यालयलाई उपकार सेवा नेपालले पाँच थान पंखा सहयोग गरेको छ ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको पहलमा विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न पंखा हस्तान्तरण गरिएको हो ।
श्री दलित उत्थान प्राथमिक विद्यालय, शिर्सिया र ने.रा. प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई पंखा प्रदान गरिएको जनाइएको छ। गर्मीका कारण विद्यार्थीको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले पंखा सहयोग गरिएको शमानीले बताएका छन् ।
०८. महोत्तरीमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
महोत्तरीको उत्तरी क्षेत्रमा लगातारको वर्षा र हावाहुरीका कारण काट्न ठिक्क परेको धानबाली खेतमै ढलेपछि किसान ठूलो क्षतिको मारमा परेका छन् ।
खेतमा पानी जम्दा पाकेको धान डुबेको छ। समयमै पानी नघटे धान कुहिने जोखिम बढेको किसानहरूले बताएका छन्। धानसँगै हावाहुरी र वर्षाले उखु खेतीमा समेत क्षति पुर्याएको छ ।
पटक–पटक बाली ढलेपछि उत्पादन लागत र आर्थिक भार बढेको किसानहरूको भनाइ छ । उनीहरूले तत्काल क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र कृषि बीमालाई प्रभावकारी बनाउन माग गरेका छन् ।
०९. परवानीपुरमा बर्थिङ सेन्टर सञ्चालन, गाउँमै निःशुल्क प्रसूति सेवा
बाराको परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।
बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीय गर्भवती महिलाले अब गाउँमै सुरक्षित र निःशुल्क प्रसूति सेवा पाउने भएका छन् ।
गाउँपालिकाले सुत्केरी आमालाई यातायात खर्चबापत १ हजार रुपैयाँ तथा तोकिएको प्रोटोकलअनुसार चार पटक गर्भजाँच गरी यहीँ सुत्केरी हुने महिलालाई थप ८ सय रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
प्रसूति सेवाका लागि आउन तथा सुत्केरीपछि घर फर्किन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । आमा र नवजात शिशुका लागि आवश्यक कपडासहितको न्यानो झोलासमेत उपलब्ध गराइने जनाइएको छ । बर्थिङ सेन्टरको उद्घाटन गाउँपालिका अध्यक्ष राम क्षेत्रीप्रसाद कुर्मीले गरेका हुन् ।
१०. मोटर जडित धाराबाट पानी पिउँदा करेन्ट लागेर बारामा युवकको मृत्यु
मोटर जडान गरिएको धाराबाट पानी पिउने क्रममा करेन्ट लागेर बारामा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महानगढीमाई नगरपालिका–८, बेतौनाका २५ वर्षीय राजु देवान रहेका छन् ।
देवान पचरौता नगरपालिका–८, बाँझोपट्टीस्थित दुर्गाप्रसाद यादवको घरमा मोटर जडान गरिएको धाराबाट पानी पिउँदै गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै उनलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।