पर्साको धोबिनी गाउँपालिका–५ मा ६२ वर्षीया वृद्धाको हत्या गरी नगद तथा गरगहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धोबिनी–५ का २६ वर्षीय चन्दनकुमार पटेल तथा १८ वर्षीय राजकपुर भनिने घलथरिया र १८ वर्षीय रामु पासवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूमाथि स्थानीय श्रीनिवास साह तुराहाकी पत्नी लखरजिया देवीको हत्या गरी चोरी गरेको आरोप छ ।
प्रहरीका अनुसार असोज ५ गते बिहान करिब ८ बजे लखरजिया देवी घरको दोस्रो तलास्थित बीचको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा असोज ४ गते राति करिब ३ बजे तीनै जनाले लखरजिया देवीको घरमा चोरी गर्ने योजना बनाएको खुलेको प्रहरीको दाबी छ। उनीहरू घरको पछाडिपट्टिबाट माथिल्लो तलामा प्रवेश गरी झ्यालको ग्रिलको ढोका तोडेर घरभित्र पसेका थिए।
प्रहरीका अनुसार उनीहरूले अर्को कोठामा रहेको टिनको बाकसको ताला फुटाउँदै गर्दा तलको तलामा सुतिरहेकी लखरजिया देवीले आवाज सुनेर माथि पुगेकी थिइन्। त्यही क्रममा उनले उनीहरूलाई देखेपछि तीनै जनाले कर्तव्य गरी हत्या गरेको र घरमा रहेको नगद तथा गरगहना चोरी गरेर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।