विश्वभर पानीको चक्रमा असन्तुलन बढ्दै गएको र यसको प्रभावस्वरूप कतिपय क्षेत्रमा अत्यधिक पानी तथा अन्य क्षेत्रमा गम्भीर पानी अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
विश्व मौसम विज्ञान संगठन डब्लूएमओ ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गरिएको छ। प्रतिवेदनले आगामी दिनमा बाढी, खडेरी तथा पानीको अभावसँग सम्बन्धित जोखिम थप बढ्न सक्ने चेतावनी दिएको छ ।
डब्लूएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा लामो अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो। सो वर्ष विश्वका सबै क्षेत्रमा हिमनदीको आकार घटेको तथा विभिन्न स्थानमा भूमिगत पानीको सतहसमेत निरन्तर ओरालो लागेको प्रतिवेदनमा उल्लेख छ ।
पृथ्वीमा रहेको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिँदै आएको गिरावट पनि निरन्तर रहेको डब्लूएमओले जनाएको छ ।
डब्लूएमओकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानीका स्रोत घट्दै जानु गम्भीर चिन्ताको विषय भएको बताइन्। उनका अनुसार यस्ता प्राकृतिक जलभण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभावलाई तत्काल सङ्कटमा परिणत हुनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
‘अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ,’ साउलोले भनिन्।
जलवायु परिवर्तनका कारण वर्षाको स्वरूपमा आएको परिवर्तन, हिमनदी पग्लिने क्रम र भूमिगत पानीको घट्दो स्तरले विश्वका विभिन्न क्षेत्रमा पानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको प्रतिवेदनले औँल्याएको छ।