रौतहट । बैंकिङ कसुरलगायत ११ वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गरुडा नगरपालिका–७ भिमहावरका दयाराम प्रसाद साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार देवेन्द्रकुमार कर्णसहित ११ जनाले छुट्टाछुट्टै दिएको जाहेरीका आधारमा साहविरुद्ध बैंकिङ कसुरलगायत ११ वटा मुद्दा चलेका थिए ।
ती मुद्दामा रौतहट जिल्ला अदालतले साहलाई ३ महिना १५ दिन कैद तथा ६६ लाख ८२ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोलीले साहलाई गरुडा–७ भिमहावरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउपछि साहलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार कैद सजाय भुक्तान तथा जरिवाना असुलउपरका लागि उनलाई कारागार कार्यालय रौतहट, गौर पठाइएको डीएसपी गौतमले जानकारी दिनुभयो ।