भारतबाट सरकार–सरकार जिटुजी प्रक्रियामार्फत खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेश प्रादेशिक कार्यालय बीरगंजलाई मल भण्डारण गर्न समस्या भएको छ ।
पछिल्लो तीन सातायता युरिया र डिएपी मलको आयात बढेपछि कम्पनीका वीरगञ्जस्थित सबै गोदाम भरिएका छन् । गोदाममा ठाउँ अभाव भएपछि कम्पनीले गण्डक नहर पश्चिमतर्फ थप एउटा गोदाम भाडामा लिएर मल भण्डारण गर्न थालेको छ ।
कम्पनीका निमित्त प्रमुख दिनेश शर्माका अनुसार वीरगञ्जस्थित कार्यालय परिसरको गोदाम, भुटनदेवीस्थित गोदाम तथा नेसनल ट्रेडिङको गोदाम भाडामा लिएर मल भण्डारण हुँदै आएको थियो। ती सबै गोदाम भरिएपछि थप मल राख्न नयाँ गोदाम भाडामा लिनुपरेको हो।
शर्माले थप मल निरन्तर भित्रिरहेकाले गण्डक नहर पश्चिमतर्फ गोदाम भाडामा लिएर भण्डारणको व्यवस्था गरिएको बताए ।
सरकारले जिटुजी प्रक्रियामार्फत भारतबाट ३० हजार टन युरिया मल खरिद गरेको छ। त्यसमध्ये २ हजार ६ सय ५४ टन युरिया वीरगञ्जस्थित कृषि सामग्री कम्पनीका गोदाममा भित्रिसकेको छ ।
खरिद गरिएको ३० हजार टन युरियामध्ये ११ हजार ५ सय टन वीरगञ्जस्थित मधेश प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ। थप मल आउने क्रम जारी रहेकाले आगामी दिनमा भण्डारण व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने कम्पनीले जनाएको छ ।