वीरगंज महानगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा देखिएको विवाद समाधानका लागि आह्वान गरिएको विशेष नगरसभा नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।
वीरगंजको आदर्शनगरस्थित होटल पुजनमा भइरहेको महानगरपालिकाको २१औँ नगरसभा (विशेष नगरसभा) मा नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुखसहितका जनप्रतिनिधि सहभागी भएका छैनन् ।
नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले असोज १३ गते विज्ञप्ति जारी गर्दै पार्टीबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिएको थियो ।
कांग्रेस पर्साका सचिव दिनेशकुमार चौधरीद्वारा जारी विज्ञप्तिमा पार्टीको निर्णयअनुसार उक्त सभामा सहभागी नहुन जनप्रतिनिधिलाई निर्देशन दिइएको उल्लेख छ ।
सोही निर्देशनअनुसार विशेष नगरसभामा उपप्रमुख इम्तियाज आलमसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा वडा सदस्यहरू अनुपस्थित रहेका छन् ।
बजेट कार्यान्वयनको विषयलाई लिएर महानगरपालिकामा विवाद भइरहेका बेला प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले विशेष नगरसभा बहिष्कार गरेपछि महानगरको राजनीतिक विवाद थप पेचिलो बनेको छ ।