समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजना तथा प्रभु हस्पिटल वीरगंजको सहकार्यमा महिला प्रहरी तथा महिला थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत करिब ४० जना महिला प्रहरी र एक जना महिला थुनुवाको स्वास्थ्य परीक्षण तथा परामर्श गरिएको हो। प्रभु हस्पिटल वीरगंजकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.लक्ष्मी थापा गुप्ताले स्वास्थ्य परीक्षणसँगै महिला स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले महिला प्रहरीहरू कामको व्यस्तताका कारण आफ्नो स्वास्थ्यप्रति पर्याप्त ध्यान दिन नसक्ने भएकाले सहज रूपमा स्वास्थ्यसम्बन्धी परामर्श र परीक्षणको व्यवस्था गर्न कार्यक्रम आयोजना गरिएको बताए।
स्वास्थ्य परीक्षणका क्रममा पाठेघर तथा पाठेघरको मुखको क्यान्सर ( सर्भाइकल क्यान्सर ) लगायत महिलामा देखिने विभिन्न स्वास्थ्य समस्याको जाँच गरिएको थियो। आवश्यक औषधि वितरण गर्नुका साथै थप उपचारका लागि चिकित्सकीय सुझावसमेत दिइएको थियो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षकद्वय चक्रबहादुर मल्ल र राजु कार्कीको विशेष उपस्थिति थियो। कार्यक्रमको संयोजन प्रहरी नायब उपरीक्षक दिलीपराज कार्कीले गरेका थिए।
त्यस्तै, प्रभु हस्पिटलकी नर्सिङ निर्देशक सरिता सिंह, प्राविधिक सञ्जित साह र फार्मासिस्ट मिखा श्रेष्ठको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक सोनी निम्हाफुकीले गरेकी थिइन्।
आगामी दिनमा अन्य विशेषज्ञ चिकित्सकसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक निम्हाफुकीले जानकारी दिइन्।