मधेस प्रदेशमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेको छ ।
पथलैयास्थित प्रदेश ट्राफिक कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत र मातहतका जिल्लाका ट्राफिक प्रमुखबीच आर्थिक वर्ष २०८३/८४ का लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा ट्राफिक प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सडकमा हुने ट्राफिक गतिविधिलाई व्यवस्थित बनाउने जिम्मेवारीसमेत सम्झौतामा समेटिएको छ ।
कार्यक्रममा गत आर्थिक वर्षमा निर्धारित लक्ष्यअनुसार भएका कामको समीक्षा गरिएको थियो। नयाँ आर्थिक वर्षका लागि तोकिएका जिम्मेवारीलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए ।
उनले सम्झौतामा उल्लेखित कार्ययोजना तथा प्रतिबद्धतालाई अनुशासित, जिम्मेवार र उत्तरदायी ढंगले कार्यान्वयन गर्न आग्रह गरे ।
कार्यसम्पादन सम्झौतामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका ट्राफिक प्रमुख सहभागी भएका थिए ।
सम्झौता गर्नेहरूमा प्रदेश ट्राफिक कार्यालय पथलैयाका प्रवक्ता तथा ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपाने, ट्राफिक प्रहरी निरीक्षक रमेश राई तथा बारा ट्राफिक प्रहरी निरीक्षक हरि भट्टराई, पर्साका दीपेन्द्र श्रेष्ठ, रौतहटका राजेन्द्र थापा मगर, सर्लाहीका झलक शर्मा, महोत्तरीका बाबुराम कार्की, धनुषाका खगेन्द्र दाहाल, सिरहाका नवीन मरासैनी र सप्तरीका उमेशमान अमात्य रहेका छन् ।