सशस्त्र प्रहरीले सिरहाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुलबाट दुई सवारीसाधनसहित गाँजा नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधारमा बुधबार राति करिब साढे १२ बजे नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरबाट खटिएको टोलीले शंकास्पद सवारीसाधनलाई पछ्याएको थियो ।
प्रहरीको टोली नजिक पुगेपछि पुलमै बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल छाडेर चालकसहित अन्य व्यक्तिहरू फरार भएका थिए ।
सवारीसाधन जाँच गर्ने क्रममा २६ वटा बोरामा प्याक गरिएको ११ क्विन्टल २ किलो ६ सय ५५ ग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा र सवारीसाधन नियन्त्रणमा लिएर फरार व्यक्तिहरूको खोजी भइरहेको छ। घटनामा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ ।