रौतहट सदरमुकाम गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय रौतहट, गौर नगरपालिका तथा उद्योग वाणिज्य संघलगायतको संयुक्त टोलीले गौर–बुधवार घण्टाघरस्थित फुलतारा डेरी एन्ड स्विट्स भण्डारमा अनुगमन गर्दा कैफियत भेटिएपछि कारबाही गरेको हो।
टोलीले खाद्यवस्तुको म्याद, लेबल, भण्डारण, मूल्यसूची तथा बिल–बिजकको अवस्थासमेत जाँच गरेको जनाएको छ।
यसैबिच गौर क्षेत्रका माछा तथा मासु पसलमा पनि संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, व्यवसाय दर्ता गर्न, सरसफाइ कायम गर्न तथा स्वच्छ र गुणस्तरीय माछा–मासु बिक्री गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि उमेश कुमार साहले बताए।
अनुगमन टोलीले निर्देशन पालना नगरे आगामी अनुगमनमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गर्ने चेतावनी दिएको छ। चाडपर्व नजिकिएसँगै बजारमा खाद्यवस्तुको कारोबार बढ्ने भएकाले अनुगमनलाई निरन्तरता दिने टोलीले जनाएको छ।