पछिल्लो समय आफ्नै पालिकाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ ।
यातायात व्यवस्था कार्यालय बर्दिबास महोत्तरीले सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सेवाग्राहीको लाइसेन्स पालिकालाई नै हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राहीसमक्ष पु¥याउने अभियानको थालनी गरेको हो । यो सेवाले लाइसेन्स छापिएर आएपछि लिनका लागि यातायात व्यवस्था कार्यालय नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीका सीताराम मैनालीले आफूले पालिकाबाटै लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भने, “यातायात व्यवस्था कार्यालयको यो कदमप्रति खुसी लाग्यो । मैले पनि हाम्रै स्थानीय तहबाट केही दिनअघि मात्र लाइसेन्स प्राप्त गरेँ ।”
सर्लाहीका छ वटा पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिबासबाट पालिकामै आइसकेको छ । लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो ।
लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईलेटले यातायात कार्यालयबाट आफूहरूलाई हस्तान्तरण गरिएको लाइसेन्स सेवाग्राहीलाई सम्पर्क गरेर हस्तान्तरण गरिरहेको जानकारी दिएका छन् ।
उनले भने, “यातायातले हामीलाई हस्तान्तरण गरेको लाइसेन्स सेवाग्राहीलाई फोन गरेरै बोलाएर धमाधम दिइरहेका छौँ ।”
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यातायात व्यवस्था कार्यालयको यो कार्यले सेवाग्राहीलाई सहज भएकाले सकारात्मक सन्देश गएको बताए । “सरकारले चाहेमा गर्न सक्छ भन्ने उदाहरण पनि हो” उनले भने ।
यातायात व्यवस्था कार्यालय बर्दिबासका प्रमुख राकेश यादवले अहिलेसम्म सर्लाही, महोत्तरी र धनुषामा यो सेवा सुरु गरिएको र निकट भविष्यमा सिन्धुलीसहित अन्य जिल्लामा पनि पालिकाहरूलाई एकमुष्टमा लाइसेन्स हस्तान्तरणको तयारी गरिएको जानकारी दिए ।
उनका अनुसार “महोत्तरीमा त पालिकाहरूले घर–घरमै लगेरसमेत दिनुभयो । अन्य जिल्लाहरूमा पनि सेवाग्राहीको सहजताका लागि सम्वन्धित पालिकालाई हस्तान्तरण गर्ने कार्य गरिरहेका छौँ ।”
मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयका सचिव रञ्जितकुमार यादव, यातायात व्यवस्था कार्यालयका प्रमुख यादवसहित प्रत्येक शनिबार र आइतबार लाइसेन्स बोकेर पालिकाहरूमा पुगिरहेका छन् ।
बिदाको दिन पालिकाहरूमै पुगेर लाइसेन्स प्रदान गर्दा सेवाग्राहीलाई सहज र छिटोछरितो रूपमा पालिकाबाट लाइसेन्स पाउने व्यवस्था मिलाइएको यातायात व्यवस्था कार्यालयका प्रमुख यादवले बताए ।
यादवका अनुसार महोत्तरीको क्षेत्रमा लाइसेन्स वितरण कार्यमा प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदादेवी थापासमेत सरिक भएका थिए ।
पछिल्लो समय सरकारले नै लाइसेन्स, राष्ट्रिय परिचयपत्र, नागरिकतासहितका सेवा घरघरमै पुगेर प्रदान गर्ने नीति अबलम्बन गर्न थालेको छ ।