पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानुले वीरगंजका खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि विशेष बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कानुले नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानको निर्माण तथा विकासलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
वीरगंजले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको तथा विभिन्न राजनीतिक परिवर्तनमा समेत भूमिका खेलेको उल्लेख गर्दै उनले खेलकुद पूर्वाधारका क्षेत्रमा भने वीरगञ्ज अझै पर्याप्त प्राथमिकतामा पर्न नसकेको बताए ।
नारायणी रंगशालाको स्तरोन्नतिका लागि सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेकोमा उनले सकारात्मक रूपमा लिँदै सरकारलाई धन्यवाद दिए । तर, आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राखेर टीबी शाह क्रिकेट मैदानको निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
सांसद कानुले रंगशाला र क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जासम्बन्धी समस्या पनि प्रतिनिधिसभामा उठाएका छन् । सम्बन्धित जग्गाधनीहरू सरकारले निर्धारण गरेको मुआब्जा लिएर जग्गा छाड्न तयार भए पनि मुआब्जा रकम यकिन गर्नुपर्ने फाइल लामो समयदेखि जिल्ला प्रशासन कार्यालयमा रोकिएको उनले बताए ।
उक्त फाइल एक वर्षभन्दा बढी समयदेखि अघि बढ्न नसकेको भन्दै कानुले मुआब्जासम्बन्धी प्रक्रिया तत्काल टुंग्याउन सरकारसँग माग गरे । लामो समयसम्म प्रक्रिया रोकिँदा रंगशाला तथा क्रिकेट मैदानको पूर्वाधार निर्माण प्रभावित भइरहेको उनको भनाइ छ ।
सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले मुआब्जासम्बन्धी फाइल तत्काल अघि बढाउन, टीबी शाह क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट सुनिश्चित गर्न तथा नारायणी रंगशालाको स्तरोन्नतिलाई गति दिन आग्रह गरे ।
वीरगंजको खेलकुद पूर्वाधारलाई स्थानीय आवश्यकतामा मात्र सीमित नराखी राष्ट्रिय खेलकुदसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिँदै उनले आगामी राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी आवश्यक संरचना समयमै तयार गर्नुपर्ने बताए ।
“वीरगंजले देशलाई धेरै दिएको छ, अब राज्यले पनि वीरगंजलाई उसको हक दिनुपर्छ,” सांसद कानुले प्रतिनिधिसभामा भने ।